२०८२ जेठ १४, बुधबार
Premier Cables

शेयर बजार

मौद्रिक नीतिको समीक्षाले पनि किन रोकिएन शेयर बजारको गिरावट ?

Calendar सोमबार, जेठ १२, २०८२  | साँझ ४:४५ बजे

काठमाडौं । सेयर धितो कर्जाको जोखिमभार घटाउने निर्णय गर्दा पनि नेप्से भने प्रभावित भएको छ । सोमबार ७ अर्ब ५८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ वटा भने नकारात्मक सर्किट लेबलमा पुगेका छन् । नेप्से सूचक भने ५.२१ विन्दुले घटेर २६७४.७६ अंकमा अडिएको छ ।

बिज्ञापन

लामो समयदेखि लगानीकर्ताले माग गर्दै आएको विषयलाई केन्द्रीय बैंकले आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सम्बोधन गरेको थियो । जस अनुसार अब सेयर धितो कर्जाको जोखिमभार १०० प्रशितमात्र हुनेछ । यसअघि ५० लाखमाथिका कर्जामा जोखिमभार १२५ प्रतिशत थियो ।

बिज्ञापन

सेयर बजारका लागि यति गतिलो नीति आउँदा पनि सोमबार बजार किन बढ्न सकेन भन्ने आम चासो र चिन्ता रहेको पाइन्छ । यद्यपि, यति नै बेला बजारमा अर्को हल्ला पनि चलेको छ । बजेटमार्फत पुँजीगत लाभकरको दर बढाइने तयारी हुँदैछ भनेर, यही कारण सोमबार बजार घटेको जानकारहरु बताउँछन् । त्यसो त बजार खुल्ने बित्तिकै भने नेप्सेमा आकर्षक बढोत्तरी भएको थियो । तर विस्तारै बिक्रेता हावी हुँदै गएका हुन् ।

बजेट पनि ल्याउने तयारी हुँदैछ । बजेटमार्फत पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने व्यवस्था गर्न लागिएको चर्चाहरु चल्न थालेको छ । यो प्रावधान आएमा सेयर बजारका लागि निकै राम्रो हुन सक्नेछ । यस्तै, हालको पूँजीगत लाभकरको दर पनि बढाउने तयारी भइरहेको हल्ला पनि चलेको छ ।

तर अर्थमन्त्री विष्णु पौडेल सेयर बजारमैत्री मानिन्छन् । उनले करका दर बढाउने जस्तो बजारका लागि अप्रिय हुने निर्णय लिंदैनन् होला भन्ने धेरैको विश्वास छ । तथापि, पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने प्रावधान आयो भने यो नै सेयर बजारका लागि सबैभन्दा महत्वपूर्ण र सकारात्मक विषय हुनेछ ।

यो प्रावधान लगानीकर्ताका लागि दीर्घकालीन दृष्टिकोणबाट हेर्दा निकै राम्रो हुनेछ । यस्तो अवस्थामा केहीगरी लाभकरको दर बढाउने निर्णय नै आइहाले पनि त्यसले खासै असर नगर्ने जानकारहरु बताउँछन् । अहिलेको सबैभन्दा ठूलो समस्या भनेको कानुनीरुपमा पुँजीगत लाभकर नै अन्तिम कर हो भन्ने किटानी नहुनु नै हो ।

कानुनीरुपमा स्पष्ट व्यवस्था नहुँदा जतिबेला मन लाग्यो त्यही बेला करका नाममा सेयर बजारमा वितण्डा मच्चाउने हर्कत हुँदै आएको छ । यसबाट लामो समयदेखि लगानीकर्ताहरु हैरान हुँदै आएका छन् । हाल अल्पकाीन कारोबारीका लागि ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्छ ।

तर मौखिकरुपमा करका अधिकारीहरु र अर्थ मन्त्रालयले यो नै अन्तिम कर हो भन्ने गरेका भए पनि स्पष्ट कानुनी आधार भने देखिएको छैन । लाभकरलाई नै अन्तिम कर भने कानुनीरुपमै स्पष्ट व्यवस्था गर्न सके करका नाममा बारम्बार दोहोरिने विवाद सधैंका लागि समाधान हुने अनुभवी लगानीकर्ताहरुको भनाई छ । यो प्रावधानसँगै लाभकरका दर केही बढ्ने कुरा आए पनि त्यसले असर नगर्ने उनीहरुको भनाई छ ।

यस्तै, अधिक तलरता र सस्तो ब्याजदरले धेरैलाई सेयर बजारतिर भने तानिरहेको देखिन्छ । सबल वित्तीय सूचक भएका तथा लाभांश क्षमता राम्रो रहेका कम्पनीहरुमा गरिने लगानीले भविष्यमा राम्रो रिर्टन दिन सक्ने सम्भावना अधिक छ ।

अल्पकालमा बजारमा केही उतारचढाव देखिए पनि अलि लामो समयलाई आधार मानेर हेर्दा आगामी दिनहरु सेयर बजारका लागि सकारात्मक हुँदै जाने संकेतहरु मिलेको छ । किन भने नियामक निकायहरु नै सेयर बजारप्रति सकारात्मक हुन थालेका छन् । यसअघि नियामक निकायहरुले नै बजार विरोधी नीति अघि बढाएका थिए । जसका कारण सेयर बजार बेस्सरी प्रभावित हुन पुगेको थियो ।

विशेषगरी केन्द्रीय बैंकले सेयर धितो कर्जामा जोखिमभार बढाउने, सेयर ऋणमा क्याप लगाउने, बैंकहरुलाई अल्पकालीन कारोबार गर्न नदिने लगायतका नीतिहरु अघि सारेर बजारलाई माथि जानबाट रोकेको थियो । तर अहिले पुनः केन्द्रीय बैंक नै सेयर बजारमैत्री देखिन थालेको छ । यसअघि कसिएका नीतिहरु क्रमशः खुकुलो पार्न थालिएको छ ।

आइतबारमात्रै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार १२५ बाट घटाएर १०० प्रतिशतमा झारिएको छ । यसअघि ५० लाखभन्दा बढीको सेयर धितो कर्जामा जोखिभार १२५ प्रतिशत थियो । यो व्यवस्थाबाट बैंकहरुलाई थप कर्जा प्रवाह गर्न सहज हुन्छ ।

जोखिमभार कम हुँदा नियामकीय मापदण्ड पूरा गर्न सहज हुने र बैंकहरुले सेयर धितोमा थप लगानी गर्न सक्ने भएका छन् । यसकारण अब बैंक–वित्तीय संस्थाहरुले सेयर धितोमा थप कर्जा प्रवाह गर्नेछन् ।

यस दिन ३ सय ३७ कम्पनीको १ करोड ७१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र युनिभर्सल पावर परेका छन् ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो