Premier Cables
Premier Steel

अर्थ विराटनगर

१८ महिनाभित्र मेल्टिङ युनिट, आरती स्ट्रिप्सले फेरि सुरु गर्दै टीएमटी उत्पादन

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | अपराह्न १२:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतीय लगानीमा सञ्चालित आरती स्ट्रिप्स प्रालिले तीन वर्षपछि पुनः टीएमटी बार उत्पादन सुरु गर्ने तयारी गरेको छ। कम्पनीले आगामी अंग्रेजी नयाँ वर्ष २०२६ को सुरुवातसँगै बजारमा विभिन्न साइजका टीएमटी उपलब्ध गराउने लक्ष्य लिएको छ।

उद्योगका महाप्रबन्धक जीवनराज तिम्सिनाका अनुसार कारखाना परिसरमा पूर्वाधार तयार भएकाले उत्पादन पुनः सुरु गर्न विशेष कठिनाइ छैन। “हामीसँग इटलीबाट ल्याइएको अत्याधुनिक मेसिन दुरुस्त अवस्थामा छ, जुन कहिले पनि सञ्चालन गर्न सकिन्छ,” उनले बताए।

बिज्ञापन

आरतीले १८ महिनाभित्र मेल्टिङ युनिट स्थापना गर्ने योजना बनाएको छ, जसका लागि ५० करोड रुपैयाँसम्मको अतिरिक्त लगानी आवश्यक पर्ने बताइएको छ। मेल्टिङ युनिट सञ्चालनमा आएपछि उद्योगले आफ्नै बिलेट उत्पादन गरी टीएमटी प्रशोधन गर्नेछ।

तीन वर्षअघि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा एकैपटक तीनवटा मेल्टिङ युनिटसहितका स्टिल उद्योग सञ्चालनमा आएपछि आरतीले प्रतिस्पर्धा गर्न नसकी टीएमटी उत्पादन बन्द गरेको थियो।

आर्थिक वर्ष २०७८/७९ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकमार्फत मेल्टिङ–आधारित स्टिल उद्योगलाई कर छुट दिएपछि बिलेट–आधारित उद्योग संकटमा परेका थिए। त्यसबेलासम्म पूर्वमा मुरार्का समूहको पशुपति आइरन मात्र मेल्टिङ–आधारित उद्योग थियो।

शर्माको नीतिपछि गोल्छा समूहको हुलास वायर, गोल्छा–रिजाल–राठीको स्वस्तिक रोलिङ मिल्स र शारडा–राठी समूहको प्रिमियर स्टिल गरी तीन नयाँ मेल्टिङ युनिट सञ्चालनमा आए।

तर पछिल्ला अर्थमन्त्रीहरूले कर संरचना परिमार्जन गर्दै बिलेट–आधारित उद्योगलाई पनि प्रतिस्पर्धी बनाउन सकिने नीति अपनाएपछि आरतीले पुनः उत्पादनमा फर्कने निर्णय गरेको हो। अर्थमन्त्री वर्षमान पुन र डा. प्रकाशशरण महतले बिलेट र स्पन्ज आइरनमा महसुल संरचना सन्तुलित बनाएका थिए, जसले उद्योगबीचको लागत अन्तर घटाएको छ।

आरती स्ट्रिप्सले तीन वर्षअघि सम्म प्रिमियम टीएमटी उत्पादन गरेर बजारमा लोकप्रियता कमाएको थियो। तिम्सिनाका अनुसार, “हाम्रो डन्डी अन्य ब्रान्डभन्दा प्रतिकिलो ३ देखि ५ रुपैयाँसम्म महँगो हुन्थ्यो, तर ठूला हाइड्रो र पूर्वाधार परियोजनाले हाम्रो उत्पादनलाई प्राथमिकता दिन्थे।”

उनले आरतीको टीएमटी उत्पादनमा प्रयोग हुने बिलेट “प्राइम क्वालिटी” भएको र पूर्वमा यस स्तरको अत्याधुनिक मेसिन अन्यत्र नभएको बताए।

आरतीको आर्थिक विवरण

सन् २००२ देखि कर्कटपाता उत्पादनमार्फत सञ्चालनमा आएको आरती स्ट्रिप्सले अहिले सीआर सिट र स्क्वायर पाइप समेत उत्पादन गर्छ।
उद्योगको कुल लगानी करिब ७ अर्ब रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा यसले १८ अर्ब ५० करोड रुपैयाँको कारोबार गरेको थियो, जसमा ९ अर्ब ९४ करोड निर्यात र ८ अर्ब ४७ करोड आन्तरिक बिक्री समावेश छ।

उद्योगले सो वर्षमा ११० करोडभन्दा बढी भ्याट र ४८ करोड विद्युत् महसुल बुझाएको जनाएको छ। हाल आरतीमा १,१०० जना प्रत्यक्ष रोजगारीमा कार्यरत छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka