विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले विराटनगरमा उधोगी व्यवसायीसँग छलफल गरेका छन् ।
निजीक्षेत्रका आवश्यकता र समस्याका विषयमा मंगलबार छलफल गरिएको हो । निजी क्षेत्रको समस्या बुझ्ने उद्देश्यले प्रतिनिधि सभाका सांसदहरूको टोली मोरङ उद्योग व्यापार संघ पुगेको बताइएको छ ।
संघका अध्यक्ष अनुपम राठीको सभापतित्व तथा महासचिव संजय कुमार श्रेष्ठको सञ्चालनमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाकी सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी (आचार्य) सहित सांसदहरू लाल विक्रम थापा, यज्ञमणि न्यौपाने, सन्तोष राजवंशी र आशा झा सहभागी थिए।
कार्यक्रममा अध्यक्ष राठीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको नयाँ सरकारप्रति शुभकामना व्यक्त गर्दै सांसदहरूको उपस्थितिप्रति खुसी व्यक्त गरे। उनले निजी क्षेत्रका आवश्यकता, समस्या र सुझावहरू बुझ्नका लागि संघमा आएकोमा धन्यवाद दिँदै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
उनले देशको आर्थिक विकास, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा औद्योगिक वातावरण सुधारका लागि संघ सधैं सहकार्य गर्न तयार रहेको बताए। साथै निजी क्षेत्रका आवाज नीति निर्माण तहसम्म पुर्याउन सांसदहरूको भूमिका महत्वपूर्ण हुने बताए।
सोही क्रममा अध्यक्ष राठीले खुला सीमामा हुने अवैध कारोबार नियन्त्रण गर्नुपर्ने, आवश्यक दैनिक उपभोग्य वस्तुहरूमा भन्सार दर घटाउनुपर्ने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने, बहुदरको मूल्य अभिवृद्धि कर प्रणाली लागू गर्नुपर्ने लगायतका सुझावहरू दिए।
कार्यक्रममा अन्य वक्ताहरूले पर्यटन व्यवसाय विस्तार गर्नुपर्ने, जलविद्युत उत्पादनमा जोड दिनुपर्ने, उद्योगका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने र सरकारी कामकारवाही भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताएका थिए। साथै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थ मन्त्रालयमा पेश गरिएका सुझावहरू कार्यान्वयन गर्न सांसदहरूको ध्यानाकर्षण गराइएको थियो।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

