नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । मोरङ उद्योग व्यापार संघले उद्योग, व्यवसाय तथा सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले २४ दिने निःशुल्क सीप स्तरोन्नति तालिम सुरु गरेको छ।
संघले हेल्भेटस नेपालको सहकार्यमा सञ्चालन गरेको उक्त तालिम आइतबारदेखि सुरु भएको हो। औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरूमा आवश्यक पर्ने हीटिङ, भेन्टिलेसन एन्ड एयर कन्डिसनिङ (HVAC) प्रणाली तथा औद्योगिक कम्पोनेन्ट विकास–मर्मतसम्बन्धी विषयमा केन्द्रित तालिम संघको सचिवालयमा आयोजित कार्यक्रममार्फत उद्घाटन गरिएको हो।
कार्यक्रमको उद्घाटन संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले गर्दै उद्योग, व्यवसाय तथा सेवा क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन अत्यन्त आवश्यक रहेको बताए। उनले उद्योग तथा प्रविधि क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको माग बढ्दै गएको उल्लेख गर्दै यस्ता तालिमले कामदारहरूको सीप अभिवृद्धि गरी उत्पादनशीलता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
साहले औद्योगिक तथा प्रविधिजन्य प्रतिष्ठानहरूमा यान्त्रिक क्षेत्रमा कार्यरत कामदारहरूको दक्षता बढाउन यो तालिम उपयोगी हुने बताउँदै व्यवहारिक सीप र प्राविधिक ज्ञानमार्फत मर्मत–सम्भार क्षमता तथा कार्यक्षमता वृद्धि हुने अपेक्षा व्यक्त गरे।
तालिम कार्यक्रमलाई हेल्भेटस नेपालको ईन्स्योर परियोजनाअन्तर्गत अनुगमन तथा मूल्याङ्कन अधिकारी रत्न बुद्ध र कोशी प्रदेशको टिभिइटी संयोजक रेखा उप्रेतीले प्राविधिक संयोजन गरेका छन्। तालिममा किरण प्रसाद मण्डल र गुल्सन कुमार मौर्यले सहजीकरण गरिरहेका छन्।
२४ दिने तालिममा विभिन्न उद्योग, अस्पताल, होटल तथा अन्य संस्थामा कार्यरत प्राविधिक कामदारहरूको उल्लेख्य सहभागिता रहेको संघले जनाएको छ।
उद्घाटन कार्यक्रममा संघका महासचिव संजय कुमार श्रेष्ठ, युवा उद्यम समिति संयोजक अमित अग्रवाल, महिला उद्यम समिति सह–संयोजक साधना झा तथा प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाईलगायत संघका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति रहेको थियो।


