काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६० प्रतिशत अर्थात् १७.०१ अंकले घटेर २ हजार ७८७.१५ विन्दुमा सीमित बनेको छ।
यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ४६८.२७ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४८ वटा स्क्रिप्टका १ करोड १३ लाख ७५ हजार ६६९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९ करोड ५७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो दिन भने ७ अर्ब ८१ करोड बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘आज बजार बढ्ने तरखरमा नै थियो तर नेपाली केही मिडियाहरुले भ्रामक वा मिथ्या सूचना प्रवाह गर्दा बजार बढ्न सकेन । नेपाली पूँजीबजारले लय लिन नसक्नुको मुख्य कारणहरुमा नेपाली मिडिया हाउसहरुको मनलाग्दी वा तथ्यहिन समाचार वा सूचना प्रकाशन÷प्रसारण हुनु पनि एक हो ।
उनले थपे, ‘आज एउटा मिडियाले व्यवसायी शेखर गोल्छा पक्राउ भनेर समाचार छाप्यो त्यहि विषयले बजारमा प्रभाव पार्न गयो तर यो समाचारमा सत्यता थिएन पछि फेरी त्यहि मिडियाले माफी पनि मागेको छ । यसरी पूँजीबजारलाई प्रभावित पार्ने खालका समाचारहरुले गर्दा पनि बजारमा स्वच्छता हराउँदै गएको छ । देशको अर्थतन्त्र सुधारका लागि नेपाली मिडियाहरु पनि जिम्मेवारी हुनुपर्छ ।
साथै पछिल्लो समय रास्वपा सरकारले जति पूँजीबजारको लागि विगुल फुकेको छ, त्यहि अनुरुप कार्य गर्ने कुनै छाँछकाँट देखाएको छैन । सेयर लगानीकर्ताहरु सेबोन, राष्ट्र बैंक र सीडीएससीले के गर्ला भन्ने मात्रै प्रतिक्षामा छन् । बजारमा अझैपनि अन्योलता कायम छ । सरकारले बनाएको नीति मात्रै कार्यान्वयन हुन सकेमा बजारले आफैं सुधारको मार्ग तय गर्नेछ ।’

