






काठमाडौं । पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउन चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार गर्न बनेको कार्यदलले अर्थमन्त्री रामेश्वर खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । बिहीबार मन्त्रालयमा कार्यदलले प्रतिवेदन बुझाएको हो ।
कार्यदलले लगानीकर्ताको मनोबल बढाउन तत्काल गर्नुपर्ने सुधारको रूपमा १५ बुँदा समेटेको छ । जसमा सेयर लगानीकर्ताले माग गर्दै आएको २५ करोडको सेयर धितो कर्जाको सीमा हटाउने, बैंक तथा वित्तीय संस्थालाई सर्टटर्ममा सेयर खरिद गर्न दिने, दुईभन्दा बढी डिम्याट खाता खोल्न दिनुपर्नेजस्ता विषय समेटिएको छ ।
साथै, धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने, सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट प्रदान गरिने इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) नम्बरलाई एकरूपता दिन मापदण्ड तयार गरी लागु गर्न पनि सुझाव दिइएको छ ।
तत्काल गर्नुपर्ने सुधार गर्नुपर्ने विषय
– बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोड रुपैयाँलाई हटाउने ।
– बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत संगठित संस्थाको सेयर तथा ऋणपत्रमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्ने ।
– सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ आश्विन मसान्तसम्म बुझाउनुपर्ने ब्याज पौष मसान्तसम्म बुझाएमा कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था गर्ने ।
– धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार (Margin Trading) प्रणाली कार्यान्वयन गर्ने ।
– सीडीएस तथा क्लियरिङ लिमिटेडबाट प्रदान गरिने International Securities Identification Number (ISIN) सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागू गर्ने ।
– हाल प्रचलनमा रहेको नेप्से सूचकाङ्कलाई All Equity Index को रूपमा कायम राखी कारोबारयोग्य सेयरहरू (Free Float Shares) को आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई Benchmark सूचकाङ्कको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने ।
– गैर-व्यावसायिक सेयर बिक्री गर्दा नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर (Final Tax) को रूपमा रहेको व्यहोरा स्पष्ट गर्ने ।
– सेयर बिक्री कारोबारमा दाखिला गरेको करको आधारमा प्राप्त हुनुपर्ने कर चुक्ता प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियालाई सहजीकरण गर्ने ।
– संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गर्ने ।
– धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्ने ।
– लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्ने ।
– नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा उक्त वर्गीकरण पश्चात जेड (Z) समूहमा पर्ने कम्पनीहरूको कारोबार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गर्ने ।
– लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने ।
– धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढंगले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्ने ।