विराटनगर । विराटनगर विमानस्थलबाट अवैध रूपमा चाँदी बोकेर काठमाडौं जान लागेका एक व्यक्ति पक्राउ परेका छन्।
मंगलबार दिउँसो करिब ३ः१५ बजे विराटनगर विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरी नायव निरीक्षक राजेन्द्र तिम्सिनाको नेतृत्वमा खटिएको टोलीले जाँच गर्ने क्रममा विराटनगर महानगरपालिका–१ निवासी ४४ वर्षीय आशिष रिजालको साथबाट करिब ३३ तोला चाँदी बरामद गरेको जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी लीलाराज लामिछानेका अनुसार मंगलबारको बजार मूल्यअनुसार बरामद चाँदीको मूल्य एक लाख ७० हजार रुपैयाँभन्दा बढी रहेको छ। वैध बिल–बीजक वा आवश्यक कागजात प्रस्तुत गर्न नसकेपछि चाँदीसहित उनलाई पक्राउ गरिएको हो।
रिजाल दिउँसो ३ः३० बजेको श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जाने तयारीमा थिए। विमानस्थलमा कडाइका साथ गरिएको सुरक्षा जाँचका कारण अवैध रूपमा बहुमूल्य धातु ओसारपसार गर्ने प्रयास सार्वजनिक भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रिजाललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। प्रारम्भिक अनुसन्धानबाट बरामद चाँदीको स्रोत खुल्न नसकेको र यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
