मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छली गरी नेपाल भित्र्याइएका पेय पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
मिति २०८२/११/२४ गते दिउँसो करिब १४:०० बजे सुनवर्षी नगरपालिका–२, अमरदह बजारस्थित पारस किराना पसलमा भारतबाट अवैध रूपमा ल्याइएका सामान भण्डारण गरिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
छापामार्दा बिलबिजक नभएका कोक, माउन्टेन ड्यु, स्प्राइट, पेप्सी लगायतका विभिन्न पेय पदार्थहरू फेला परेपछि प्रहरीले ती सामान बरामद गरेको हो। साथै, पसल सञ्चालक पारस साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको सामानमध्ये कोक, माउन्टेन ड्यु, स्प्राइट र पेप्सीका विभिन्न साइजका गरी कुल १७१ कार्टुन पेय पदार्थ रहेका छन्। ती सामानहरूको अन्दाजी मूल्य करिब १ लाख ४५ हजार २०० रुपैयाँ रहेको छ।
बरामद गरिएका सामानहरू आवश्यक कारवाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको छ भने पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
