विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु देउवा राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि भएको छ। विभिन्न सरकारी निकायले उनीहरूमाथि अनुसन्धान अघि बढाइरहेको र थप प्रक्रिया अगाडि बढाउन अदालतबाट अनुमति लिइएको स्रोतले जनाएको छ।
हाल देउवा दम्पती स्वदेशबाहिर रहेका छन्। देउवा उपचारका लागि सिंगापुर गएका थिए भने पछि उनकी पत्नी पनि उतै पुगेकी थिइन्। यसअघि छिट्टै नेपाल फर्किने भनिए पनि उनीहरू अझै फर्किएका छैनन्।
सरकारी स्रोतका अनुसार उनीहरूमाथि विशेषगरी अवैध सम्पत्ति आर्जन र धन थुपारेको विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ। यससँगै, बूढानीलकण्ठस्थित देउवा निवासमा भएको लुटपाट र आगजनीपछि बाहिरिएका नगदसम्बन्धी विषय पनि अनुसन्धानको दायरामा परेको छ। सो घटनापछि सामाजिक सञ्जालमा ठूलो रकम भेटिएको दाबी गरिएका सामग्री सार्वजनिक भएका थिए, जसबारे सत्यता पुष्टि गर्न फरेन्सिक जाँचसमेत गरिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्बन्धित निकायले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छन्।
देउवा दम्पती विदेशमा रहेका कारण उनीहरूलाई नेपाल ल्याउने विषयमा सरकारी निकायबीच छलफल भइरहेको छ। आवश्यक परे अन्तर्राष्ट्रिय समन्वयमार्फत प्रक्रिया अघि बढाइने बताइएको छ। अब उनीहरू स्वेच्छाले फर्किने वा कानुनी प्रक्रिया कडाइका साथ अघि बढ्ने भन्ने चासो बढेको छ।
