कोशी प्रदेश उद्योग वाणिज्य महासंघको सभा सम्पन्न, लगानीमैत्री वातावरणमा जोड
विराटनगर । विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभा सम्पन्न भएको छ। सभामा अध्यक्ष राजेन्द्र राउतले स्वागत मन्तव्य राख्दै आफ्नो तीन वर्षे कार्यकालमा निजी क्षेत्रको सशक्तीकरण, लगानी प्रवर्द्धन र नीतिगत सुधारका लागि गरिएका प्रयासबारे जानकारी दिए।
उनले नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्मरण गर्दै निजी क्षेत्रको मनोबल कमजोर बनेको उल्लेख गरे। यस्तो परिस्थितिमा महासंघले लगानीकर्तामा आशा जगाउने, नीतिगत तहसम्म निजी क्षेत्रको आवाज पुर्याउने र सरकारसँग सहकार्य गर्ने कामलाई प्राथमिकता दिएको उनले बताए। जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र व्यवसायीहरूसँग समन्वय गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर पहल गरिएको उनको भनाइ थियो।
राउतका अनुसार पछिल्ला वर्षहरूमा रोजगार मेला, कृषि एक्स्पो, तालिम कार्यक्रम तथा लगानी सम्मेलनजस्ता गतिविधिमार्फत आर्थिक गतिविधि चलायमान बनाउन योगदान पुगेको छ। साथै डिजिटल प्रणालीको सुरुवात र साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने कार्यक्रम पनि सञ्चालन गरिएको जानकारी उनले दिए। महासंघको आफ्नै भवन निर्माण कार्य पनि अघि बढिरहेको उल्लेख गर्दै उनले यसले संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले हालको आर्थिक अवस्था अझै पनि चुनौतीपूर्ण रहेको बताउँदै अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी तेल मूल्यवृद्धि र मध्यपूर्वको अस्थिरताले नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा असर पार्ने चेतावनी दिए। रेमिट्यान्समा उच्च निर्भरता रहेको अवस्थामा यस्ता बाह्य जोखिमले अर्थतन्त्रलाई थप दबाबमा पार्न सक्ने उनले उल्लेख गरे।
राउतले उत्पादनमूलक उद्योग विस्तार, आन्तरिक रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। कोशी प्रदेशमा कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै ती क्षेत्रको विकासमार्फत प्रदेश र देशको आर्थिक समृद्धिमा योगदान गर्न सकिने धारणा उनले राखे।
निजी क्षेत्रमाथि हुने आक्रमण र अस्थिरताले लगानी वातावरणमा नकारात्मक असर पार्ने भन्दै उनले पारदर्शी शासन, नीतिगत स्थिरता र सरकार–निजी क्षेत्रबीच विश्वास निर्माण अपरिहार्य रहेको बताए। आगामी दिनमा सहकार्य, नवप्रवर्तन र दीर्घकालीन सोचसहित अर्थतन्त्र सुदृढ बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।
