विराटनगर। निर्वाचन आयोगले रोकिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सञ्चालनमा ल्याएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा गत मङ्सिर ६ गतेदेखि स्थगित गरिएको यो प्रक्रिया आयोगको चैत १८ गतेको निर्णयअनुसार पुनः सुरु गरिएको हो ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदाता नामावलीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ व्यवस्था लागू गरिएको छ । अब राष्ट्रिय परिचयपत्र नम्बर भएका नेपाली नागरिकले सोही विवरण प्रयोग गरी अनलाइनमार्फतै नाम दर्ता गर्न सक्नेछन् ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले भने ‘प्रि–इनरोलमेन्ट’ प्रणालीबाट अनलाइन फारम भर्नुपर्नेछ । फारम भरेपछि फोटो खिचाउन र औँठाछाप दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
यसपटक आयोगले नयाँ दर्तासँगै विवरण अद्यावधिक प्रक्रियालाई पनि सहज बनाएको छ । नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा बसाइँसराइ गरेका व्यक्तिको विवरण अद्यावधिक गर्नसमेत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी, नाम, थर र ठेगाना सच्याउने, एउटै वडाभित्र विभिन्न मतदानस्थलमध्ये आफूलाई पायक पर्ने स्थानमा नाम सार्ने तथा नागरिकतासँग नमिलेका विवरण सुधार गर्ने सुविधा पनि प्रदान गरिएको छ ।
निर्वाचन आयोगले सबै योग्य नेपाली नागरिकलाई आफ्नो मताधिकार सुनिश्चित गर्न मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
