नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल ले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संविधानअनुसार आजका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।
बैठकको सुरुआतमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने र मन्त्रिपरिषद् गठनबारे जानकारी दिने कार्यक्रम छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसहित सबै तयारी पूरा भइसकेको छ। संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।
