






विराटनगर । विराटनगरको मानगढ खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान सम्पन्न भएको छ । तोकिएको समयभित्र जम्मा ३ हजार ९६४ मत खसेको छ । कूल मतदता ५ हजार ९८८ जना मतदाता थिए । यस हिसाबले जम्मा ६६.१९ प्रतिशत मत खसेको छ ।
विराटनगर–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्व विद्यालयको जनता क्याम्पसमा बिहान ७ बजे मतदान शुरु भएको थियो । साँझ ५ बजेसम्म मतदान गर्ने अवधि तोकिएको थियो ।
संस्थाको नयाँ नेतृत्व छान्न २०८१ जेठ १९ मा मतदान भएको थियो । तर, निर्वाचन प्रक्रियाको विषयमा मुद्दा परेपछि उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो ।
उच्चले पुनः जेठ १० गते निर्वाचन गर्न आदेश दिएको थियो । निर्वाचन अधिकृत अधिवक्ता रुकमिणा नेपालले मतदान निर्धारित समयमै शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइन् । अब केही कानुनी प्रक्रिया पूरा गरेर रातिबाट नै मत गणना शुरु हुने नेपालले जानकारी दिएकी छिन् ।
अध्यक्ष पदमा रामबहादुर घिमिरे, लालमणि भट्टराई र दुर्गा चापागाईँ प्यान बनाएर उठेका छन् । भट्टराई र घिमिरे नेकपा एमालेकातर्फ बाट उम्मेदवार बनेका हुन । यसैगरी चापागाईँ नेपाली कांग्रेसको समर्थित उम्मेदवार हुन् ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतदान सकिएर अहिले सर्वदलीय बैठक बसिरहेकाेले रातिबाटै मतगणना सुरु हुने बताएका छन ।