






विराटनगर । विराटनगरको मानगढ खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । जनता क्याम्पस पुस्पलाल चौकमा तोकिएको निर्वाचन स्थलमा मतदान बिहान सबा ७ बजेदेखि शुरु भएको हो ।
साढे ११ बजेसम्म १४५६ मत खसेको निर्वाचन समितिले जनाएको छ । बिहानैदेखि मतदाता लाम लागेर उभिएका छन् । निर्वाचनलाई मध्यनजगर गरी पुष्पलाल चौक दक्षिणतिरको सडक बन्द गराइएको छ ।
दक्षिण आउने सवारी साधनहरु दुधफारम चोकतिरबाट पास गराइएको छ । त्यहाँको सुरक्षा व्यवस्था मिलाउन पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
विराटनगर–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा जारी मतदानको समय बेलुका ५ बजेसम्म तोकिएको छ ।
नयाँ नेतृत्व छान्न पछिल्लो पटक २०८१ जेठ १९ मा मतदान भएको थियो । तर, निर्वाचन प्रक्रियाको विषयमा मुद्दा परेपछि उच्च अदालत विराटनगरले पुन: मतदान गर्नुपर्ने फैसला गरेको थियो । निर्वाचन अधिकृत अधिवक्ता रुकमिणा नेपालले बताएअनुसार समितिको नेतृत्व छान्न ५ हजार ९८८ उपभोक्ता मतदाता छन् । मतदान स्थलमा १२ वटा बुथ राखेर मत खसाउने प्रबन्ध गरिएको छ ।
अध्यक्ष पदमा रामबहादुर घिमिरे, लालमणि भट्टराई र दुर्गा चापागाईँ प्यान बनाएर चुनावी मैदानमा छन् । भट्टराई र घिमिरे नेकपा एमालेका तर्फ बाट उम्मेदवार बनेका हुन । यसैगरी चापागाईँ नेपाली कांग्रेसको समर्थित उम्मेदवार हुन् ।