विराटनगर । प्रतिकूल मौसमका कारण शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भएका छन्। विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान गन्तव्यमा पुग्न नसकी पुनः विराटनगर नै फर्काइएको छ।
त्यसैगरी, यति एयरलायन्सको विराटनगर–काठमाडौं उडान पनि अवतरण गर्न नसकेपछि पुनः विराटनगरमै फर्किएको छ।
यस्तै, श्री एयरलाइन्सको धनगढीबाट काठमाडौंका लागि उडेको विमान पनि खराब मौसमका कारण धनगढीमै फर्किएको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ, कुन्मिङबाट काठमाडौं आउँदै गरेको चाइना ईस्टर्न एयरलायन्सको विमान पनि गन्तव्यमा अवतरण गर्न नसकी पुनः कुन्मिङ नै फर्किएको छ।
त्यसैगरी, दिल्लीबाट काठमाडौंका लागि उडेको इन्डिगो एयरको विमान महोत्तरीमाथिको आकाशमा करिब ३० मिनेट ‘होल्ड’ मा राखिएपछि अन्ततः दिल्ली डाइभर्ट गरिएको छ।
मौसममा आएको खराबीका कारण देशभरका हवाई उडानहरू प्रभावित भएको नागरिक उड्डयन स्रोतले जनाएको छ।
