विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा चैत १२ देखि १६ गतेसम्म विराटनगरमा ‘होम बिल्ड एक्जिविसन २०२६’ आयोजना हुने भएको छ।
प्रदर्शनी अवधिभर प्रत्येक दिन दुई घण्टाका विशेष सत्र सञ्चालन गरिनेछ, जहाँ वाटरप्रुफिङ तथा भवन उपचार, सोलार होम प्रणाली, स्मार्ट हाउस अवधारणा, वातावरणमैत्री निर्माण, धमिरा नियन्त्रण, मोड्युलर किचन प्रविधि, भूकम्प प्रतिरोध तथा आगो र किचन सुरक्षासम्बन्धी विषयमा विशेषज्ञहरूले प्रस्तुति तथा छलफल गर्नेछन्।
प्रदर्शनीको मुख्य उद्देश्य स्वदेशी निर्माण सामग्री तथा सेवाको प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु रहेको आयोजकले जनाएको छ। साथै आधुनिक निर्माण अभ्यास, गुणस्तर र दिगोपनबारे उपभोक्तामा सचेतना अभिवृद्धि गर्दै डिजाइन, प्रविधि र सेवाबीच सहकार्य बढाउने लक्ष्य राखिएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यस्तो प्रदर्शनीले बजार चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए। संयोजक सुरेन्द्र गोल्छाका अनुसार निर्माण क्षेत्रको आपूर्ति शृंखला व्यापक भएकाले श्रमिकदेखि प्राविधिक, उत्पादक र सेवा प्रदायकसम्म सबैलाई जोड्दै क्षेत्रलाई सक्रिय बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
प्रदर्शनीमार्फत सुरक्षित र स्मार्ट घर निर्माण, उपयुक्त सामग्री छनोट तथा जिर्णोद्धारसम्बन्धी जनचेतना अभिवृद्धि गरिनेछ। उत्पादन प्रदर्शन, विशेषज्ञ सत्र र अन्तरक्रियामार्फत यसलाई ज्ञान, नवप्रवर्तन र व्यावसायिक अवसरको साझा मञ्चका रूपमा विकास गर्ने तयारी गरिएको छ।
उक्त प्रदर्शनीको प्रवर्द्धक विराटनगर महानगरपालिका रहेको छ भने टाइटल स्पोन्सर निमाटो टाइल्स रहेको छ। सिल्भर स्पोन्सरमा हुलास इन्फ्रा, राठी केबल, मार्वल टेक्नोप्लास्ट र नविल बैंक रहेका छन्। विभिन्न अन्य कम्पनीहरू एशोसिएट स्पोन्सरका रूपमा सहभागी रहनेछन्।
आयोजकले प्रदर्शनीको सूचना व्यापक रूपमा प्रचार–प्रसार गरी सफल बनाउन सञ्चारमाध्यमसँग सहयोगको अपिल समेत गरेको छ।
