फायल फोटो
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा बी फार्मेसी अध्ययनरत विद्यार्थीहरूले १६ बुँदे माग अघि सार्दै मंगलबार राति तालाबन्दी र प्रदर्शन गरेका छन्। शैक्षिक तथा प्रशासनिक अव्यवस्थाको विरोधमा स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेजका विद्यार्थीहरूले टायर बालेर विरोध जनाएका हुन्।
विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोग र नेपाल फार्मेसी काउन्सिलको मापदण्डअनुसार शैक्षिक वातावरण सुनिश्चित गर्न माग गर्दै वैशाख ८ गते नै उपकुलपति र कलेज प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। तर मागप्रति बेवास्ता गरिएको आरोप लगाउँदै उनीहरूले आन्दोलन थालेका हुन्।
उनीहरूको गुनासो अनुसार विश्वविद्यालयमा दक्ष तथा विशेषज्ञ शिक्षकको अभाव छ भने काउन्सिलमा दर्ता नभएका व्यक्तिबाट पढाइ भइरहेको छ। साथै, पर्याप्त भौतिक पूर्वाधार नहुँदा बी फार्मेसीका कक्षाहरू इन्जिनियरिङ ल्याब र अडिटोरियम हलमा सञ्चालन गर्नुपरेको बाध्यता रहेको उनीहरूले बताएका छन्।
विद्यार्थीहरूले मोडल फार्मेसी स्थापना नभएको, पुस्तकालयमा पर्याप्त सामग्रीको अभाव रहेको तथा पाठ्यक्रम मनपरी ढंगले परिवर्तन गरिएको आरोपसमेत लगाएका छन्। संकायमा डिन र विभाग प्रमुखको स्पष्ट व्यवस्था नहुँदा प्रशासनिक कामकाज प्रभावित भएको उनीहरूको भनाइ छ। साथै, विद्यार्थी कल्याण कोष, स्वास्थ्य सेवा कोष र व्यवस्थित छात्रावासको माग पनि अघि सारिएको छ।
उपकुलपति डा. सुवास पोखरेलले भने अधिकांश माग सम्बोधनयोग्य भए पनि रजिस्ट्रार पद रिक्त रहेकाले प्रशासनिक तथा आर्थिक निर्णयमा समस्या भएको बताए। ‘दक्ष शिक्षक भर्नाका लागि पटक–पटक विज्ञापन आह्वान गरे पनि आवश्यक मापदण्डका प्राध्यापक उपलब्ध हुन सकेनन्,’ उनले भने, ‘केही माग कार्यान्वयनकै चरणमा छन्, तर आन्दोलनमा बाहिरी प्रभाव पनि देखिएको छ।’
विद्यार्थीहरूले वार्ताका लागि उपकुलपति आफैं सडकमा आउनुपर्ने अडान लिएपछि केही समय उनी कार्यकक्षमै सीमित भएका थिए। कलेजको मुख्य गेटमा लगाइएको ताला भने कर्मचारीहरूले फोडेका छन्।
प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले तीन विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिएका छन्।
