विराटनगर ।। भारतले नेपालबाट हुने चिया आयातमा नयाँ तथा कडा प्रावधान लागू गरेपछि नेपाली चिया उद्योग गम्भीर संकटमा परेको छ । भारतीय चिया बोर्डले १८ वैशाखदेखि लागू हुने गरी नयाँ कार्यविधि जारी गरेसँगै नेपालबाट भारततर्फ हुने चिया निर्यात लगभग ठप्प बनेको व्यवसायीहरूले बताएका छन् ।
नयाँ नियमअनुसार अब नेपालबाट भारत प्रवेश गर्ने प्रत्येक ट्रकको चिया छुट्टाछुट्टै प्रयोगशाला परीक्षण गर्नुपर्नेछ । यसअघि एउटा नमुना परीक्षण प्रतिवेदनले १५ दिनसम्म वा १० वटा ट्रकसम्म मान्यता पाउने व्यवस्था थियो । अहिले भने प्रत्येक ट्रकको परीक्षणका लागि करिब ११ हजार भारु शुल्क तिर्नुपर्ने र नतिजा आउन कम्तीमा दुई साता कुर्नुपर्ने व्यवस्था गरिएको छ ।
भारतले आयातित चियामा मिसावटको जोखिम बढेको भन्दै गुणस्तर परीक्षण कडा बनाएको जनाएको छ । भारतीय चियाको साख जोगाउन, विदेशी चियाको गुणस्तर मापन गर्न तथा उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न नयाँ नियम लागू गरिएको त्यहाँको चिया बोर्डले उल्लेख गरेको छ ।
नयाँ व्यवस्थाअनुसार भारत प्रवेश गरेलगत्तै चियाको नमुना राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाइनेछ । प्रयोगशालाले १४ दिनभित्र परीक्षण प्रतिवेदन अनलाइन प्रणालीमा राख्नुपर्नेछ । जबसम्म चियाले सबै मापदण्ड पूरा गरेको प्रमाणपत्र प्राप्त गर्दैन, तबसम्म उक्त चिया भारतको बजारमा बिक्री वा पुनः निर्यात गर्न पाइने छैन ।
यदि परीक्षणमा चिया असफल भए त्यसलाई कुनै पनि हालतमा अनुमति नदिइने र आयातकर्तालाई तत्काल सूचना पठाइने व्यवस्था गरिएको छ । पुनः परीक्षणको सुविधा राखिए पनि त्यसका लागि आयातकर्ताले ४८ घण्टाभित्र निवेदन दिनुपर्नेछ र सम्पूर्ण खर्च आफैंले बेहोर्नुपर्नेछ । पुनः परीक्षण शुल्क प्रतिनमुना १५ हजार भारुभन्दा बढी पर्ने जनाइएको छ ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतले औपचारिक रूपमा निर्यात बन्द नगरे पनि व्यवहारमा असम्भव बनाएको बताएका छन् । उनका अनुसार नयाँ नीतिपछि व्यवसायीहरूले चिया लोड गर्नै छाडेका छन् ।
उनले प्रत्येक ट्रकको छुट्टाछुट्टै परीक्षण, लामो प्रतीक्षा अवधि र उच्च शुल्कका कारण व्यवसाय सञ्चालन असहज बनेको बताए । भारतको पानीट्यांकी भन्सार क्षेत्रमा ट्रकहरू लामो समय राख्ने उचित व्यवस्था नभएकाले चियाको गुणस्तर नै बिग्रने जोखिम रहेको उनको भनाइ छ ।
व्यवसायीहरूका अनुसार भारतीय खरिदकर्ताहरू पनि अहिले जोखिम लिन तयार छैनन् । परीक्षण प्रतिवेदन नआउन्जेल भुक्तानी रोकिने र चिया असफल भए फिर्ता वा नष्ट हुन सक्ने डरले भारतीय व्यापारीहरू पर्ख र हेरको अवस्थामा पुगेका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यस विषयमा सरोकारवालासँग छलफल गरी प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पठाइसकेको जनाएको छ । बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार यो प्राविधिकभन्दा पनि दुई देशबीच कूटनीतिक तहमा समाधान गर्नुपर्ने विषय बनेको छ ।
व्यवसायीहरूका अनुसार भारतले यसअघि पनि नेपाली चियामाथि विभिन्न समयमा अवरोध खडा गर्दै आएको छ । कहिले गुणस्तर त कहिले ब्रान्डिङको बहानामा गैरभन्सार अवरोध सिर्जना गरिएको उनीहरूको आरोप छ ।
नेपालको चिया निर्यातको सबैभन्दा ठूलो बजार भारत नै हो । नेपालको अर्थोडक्स चियाको झन्डै ९० प्रतिशत तथा सीटीसी चियाको करिब ५० प्रतिशत बजार भारतमा निर्भर छ । अन्य मुलुकमा निर्यात विस्तारको चर्चा भए पनि तत्काल विकल्प तयार नभएको व्यवसायीहरूको भनाइ छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालले वार्षिक करिब चार अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको छ । देशभर २० हजारभन्दा बढी हेक्टर क्षेत्रमा चिया खेती भइरहेको छ भने यस क्षेत्रबाट करिब ६० हजार जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।
