काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उमेदवार बनेका नेपाल प्रहरी पूर्वडीएसपी गोविन्द पन्थी गुल्मी–२ बाट विजयी भएका छन् । १६ हजार ८७८ मतसहित पन्थी सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार गोकर्ण बिष्टले १६ हजार ३८२ मत ल्याएका छन् ।
रास्वपाबाट नै कपिलवस्तु–२ मा उमेदवार बनेका पूर्वएसएसपी विक्रमसिंह थापा पनि फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले २१ हजार १६८ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार सुरेन्द्रराज आचार्य १२ हजार २२२ मतसहित दोस्रो स्थानमा छन् ।
झापा–४ मा रास्वपाबाटै उमेदवार बनेका पूर्वसई शम्भु ढकालले १८ हजार ८११ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार लालप्रसाल साँवा लिम्बूले पाँच हजार ५९० मतसहित उनलाई पछ्याइरहेका छन् ।
ओखलढुंगामा रास्वपाबाट उमेदवार बनेका पूर्वएआईजी विश्वराज पोखरेल भने कांग्रेसका कुमार लुइँटेलभन्दा पछि परेका छन् । लुइँटेलले ६ हजार ३०१ मत प्राप्त गरेका छन् । पोखरेलले पाँच हजार २५८ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
