Premier Cables
Premier Steel

कोशी प्रदेश

कमान्डरदेखि केन्द्रीय नेतृत्वसम्मः मेयरपछि सांसद बन्ने बगडियाको तयारी (श्रृंखला-२)

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न १:२८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । राजनीति सम्भावनाको खेल मात्र होइन, सही समयमा सही निर्णय लिन सक्नेका लागि ठूलो फड्को मार्ने भर्‍याङ पनि हो। मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया त्यही उकालोको जीवित उदाहरण बनेका छन्।

कुनै बेला माओवादी केन्द्रको ‘कमान्डर’ बनेर एमालेको चर्को आलोचना गर्ने बगडिया आज त्यही दलको केन्द्रीय कमिटीमा स्थान बनाउन सफल छन्। रंगेलीको मेयर हुँदै उनी प्रतिनिधि सभाको यात्रा गर्ने तयारीमा छन् ।

मोरङको रंगेली नगरपालिकामा दुई कार्यकाल मेयर पदको कार्यभार सम्हालेका दिलिप बगडिया यस पटक प्रतिनिधि सभा निर्वाचनमा उमेदवार छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा उनी एमालेबाट उमेदवार बनेका छन् । उनी विकास प्रेमी नेताको रुपमा परिचित छन् । यस पटक उनको चुनावी प्रतिस्पर्धा कांग्रेसका नेता मिनेन्द्र रिजालसँग छ ।

नेकपा एमालेको ११ औँ महाधिवेशनले उनको राजनीतिक यात्रामा नयाँ अध्याय थपे । अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा पर्दै बगडियाले मधेसी क्लस्टरबाट केन्द्रीय सदस्यको जिम्मेवारी पाए । एमाले प्रवेश गरेको छोटो समयमै केन्द्रीय तहमा उक्लनु राजनीतिक वृत्तमा ‘छोटो अवधिको ठूलो छलाङ’ का रूपमा हेरिएको छ ।

कांग्रेसबाट सुरु, माओवादी हुँदै एमालेसम्म

बगडियाको राजनीतिक यात्रा सोझो रेखामा अघि बढेको छैन। उनले सार्वजनिक जीवनको सुरुआत नेपाली कांग्रेसबाट गरेका थिए। तर पार्टीभित्र आफूलाई सीमित महसुस गरेपछि उनी नेकपा माओवादी केन्द्रतर्फ मोडिए। २०७४ सालको

स्थानीय तह निर्वाचनमा माओवादीको टिकटबाट रंगेली नगरपालिकाको मेयर निर्वाचित हुँदा उनले मधेस राजनीतिमा आफ्नो उपस्थितिलाई बलियो बनाएका थिए।

तर, माओवादीसँगको सहकार्य लामो समय टिकेन। २०७८ फागुन २५ गते उनले एमालेमा प्रवेश गरे। त्यो प्रवेश व्यक्तिगत मात्र थिएन—उनीसँगै नगरपालिकाका थुप्रै जनप्रतिनिधि र कार्यकर्ताले पनि पार्टी परिवर्तन गरे। मोरङको राजनीतिमा त्यस घटनाले तरंग पैदा गर्‍यो।

उद्योगी पृष्ठभूमि, व्यवस्थापनको छाप

राजनीतिसँगै बगडिया व्यवसायिक जगतमा पनि परिचित नाम हुन्। इँटा उद्योग सञ्चालनमार्फत स्थापित उद्योगीका रूपमा चिनिएका उनले व्यवस्थापकीय अनुभवलाई स्थानीय शासनमा प्रयोग गर्ने प्रयास गरे। रंगेलीमा पूर्वाधार विकास, सेवा प्रवाहमा चुस्तता र नागरिकसँगको प्रत्यक्ष संवादले उनलाई जनप्रिय बनायो।

२०७९ को स्थानीय तह निर्वाचनमा उनले एमालेबाट पुनः मेयर पद जित्दा त्यो लोकप्रियताको परीक्षणजस्तै थियो। नगर कार्यपालिकामा एमालेको स्पष्ट बहुमत कायम हुनुमा पनि उनको प्रभाव निर्णायक मानिन्छ।

‘विश्वासिलो पहिचान

एमाले प्रवेशका प्रारम्भिक दिनमा उनलाई ‘पाहुना नेता’ भन्दै टिकाउ नहुने आकलन गरियो। पार्टीभित्र इतर समूहमा देखिएका बगडियाले समयक्रममा आफूलाई संस्थापन पक्षसँग नजिक बनाए। मोरङ क्षेत्र नम्बर ५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनु र केन्द्रीय कमिटी निर्वाचनमा संस्थापन प्यानलबाटै उम्मेदवारी पाउनु उनको आन्तरिक सन्तुलन मिलाउने क्षमताको संकेत थियो।

केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै बगडियाको भूमिका अब स्थानीय सीमाभन्दा माथि उक्लिएको छ। रंगेलीका ‘कमान्डर’ अब एमालेको केन्द्रीय राजनीतिमा कस्तो प्रभाव छोड्छन्, त्यो समयले देखाउनेछ। तर यति स्पष्ट छ—लोकप्रियता, संगठन कौशल र अवसरको सही उपयोगले राजनीतिमा उचाइ चुम्न धेरै समय लाग्दैन भन्ने सन्देश उनले दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka