विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले विराटनगरको सीमावर्ती क्षेत्रमा एक नेपाली युवकलाई नियन्त्रणमा लिएर कुटपिट गरेको छ ।
विराटनगर महानगरपालिका-२ का २८ वर्षीय अनुज कामतलाई शनिबार सीमावर्ती दरैया क्षेत्रमा एसएसबीका जवानले कुटपिट गरेका हुन् ।
भारतबाट नेपालतर्फ आउने क्रममा कामतको एसएसबीका जवानसँग विवाद भएको थियो । विवादका क्रममा कामतले एसएसबीका जवानतर्फ ढुंगा प्रहार गरेको र ढुंगा जवानलाई लागेको बताइएको छ ।
त्यसपछि दशगजाबाट नेपालतर्फ आएका कामतलाई एसएसबीका जवानले पछ्याउँदै नियन्त्रणमा लिएका थिए । उनलाई तानेर दशगजापारि भारततर्फ लगेर लाठीले कुटपिट गरिएको बताइएको छ । घटनाका बेला सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीसमेत घटनास्थलमा रहेको जनाइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा नेपालतर्फका सुरक्षाकर्मीले सुरुमा कामतलाई रोक्ने प्रयास गरेको देखिन्छ । त्यसपछि एसएसबीका जवानले उनलाई नियन्त्रणमा लिएर भारततर्फ लैजाँदै गरेको र कुटपिट गरेको दृश्यसमेत भिडियोमा देखिन्छ ।
एसएसबीले केही समय नियन्त्रणमा राखेर कुटपिट गरेपछि कामतलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । इलाका प्रहरी कार्यालय रानीले उनलाई एक दिन नियन्त्रणमा राखेर आइतबार आफन्तको जिम्मा लगाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कामतलाई श्रीमतीको रोहबरमा घर पठाइएको हो । प्रहरीका अनुसार कामत लागुऔषध प्रयोगकर्ता हुन् र एसएसबीसँग विवाद हुँदा उनी सामान्य अवस्थामा नरहेको बताइएको छ ।
