विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
कोशी प्रदेशका तीन पदमध्ये नेपाली कांग्रेसका सुनीलबहादुर थापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।
थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने पोर्तेल र मेचे आइतबार सम्पन्न निर्वाचनबाट विजयी भएका हुन्। निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार खेम सुन्दास र नमिता न्यौपाने पराजित भएका छन्। पोर्तेल ७ हजार ४२३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
पूर्वमन्त्रीसमेत रहेका सुनीलबहादुर थापा संविधानसभा निर्वाचन २०७० मा धनकुटा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित भएका थिए।
नेकपा एमालेले दलित कोटातर्फ सोम पोर्तेललाई राष्ट्रिय सभा उम्मेदवार बनाएको थियो। पोर्तेलले यसअघि झापा जिल्ला समन्वय समितिमा पाँच वर्ष कार्य गरेका छन्। यस्तै, महिला कोटाबाट निर्वाचित रोशनी मेचे पनि झापाकै निवासी हुन्। उनी अल्पसंख्यक मेचे समुदायको प्रतिनिधित्व गर्दै यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत थिइन्।
राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका थिए। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको थियो।
