विराटनगर । नेकपा एमालेले मोरङका क्षेत्र नम्बर ५ र ६ का लागि उम्मेदवार टुंगो लगाएको छ । मोरङका ६ निर्वाचन क्षेत्रमध्ये यी दुई क्षेत्रमा उम्मेदवार चयन हुन बाँकी थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै क्षेत्रमा उम्मेदवारको टुंगो लगाउने बताइएअनुसार अन्ततः निर्णय भएको हो । पार्टी केन्द्रीय समितिका पदाधिकारीहरूको आग्रहपछि मोरङ–६ बाट विनोद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ ।
यसैगरी मोरङ–५ बाट मनोज अग्रवालको नाम टुंगो लागेको छ । अग्रवाल एमालेभित्र मारवाडी समुदायको प्रतिनिधित्व गर्दै सक्रिय रहँदै आएका छन् । उनी सामाजिक कार्यमा समेत सक्रिय छन् ।
विनोद ढकाल एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा इश्वर पोखरेल समूहबाट केन्द्रीय सचिव पदका उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए । उनको नाम यसअघि मोरङका क्षेत्र नम्बर १, ४ र ६ बाट सिफारिस गरिएको थियो ।
ढकाल यसअघि मोरङ–४ बाट निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन् ।
