विराटनगर। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले विराटनगर महानगर कमिटीले महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना गरेको छ।
सम्भवतः पहिलो पटक आयोजित यस कार्यक्रममा विराटनगर महानगरका १९ वटै वडासहित निर्वाचन क्षेत्र ४, ५ र ६ का हजारौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
यसअघि प्रत्येक वर्ष वडा–स्तरीय वनभोज कार्यक्रम हुँदै आए पनि महानगर कमिटीको पहलमा पहिलो पटक सामूहिक रूपमा यो कार्यक्रम आयोजना गरिएको हो। वनभोजको औपचारिक कार्यक्रममा बोल्दै महानगर अध्यक्ष बलराम गिरी (नविन)ले आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता त्यागेर अब एकताबद्ध भएर एमालेको विजयका लागि अघि बढ्ने संकल्प गर्नुपर्ने बताए।
“हिजो आन्तरिक प्रतिस्पर्धामा जुनसुकै धारमा भए पनि अब सबै मिलेर एमाले जिताउने प्रण गर्नुपर्छ,” उनले बताए। गिरीको भनाइलाई उपस्थित नेता–कार्यकर्ताले ताली बजाएर समर्थन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको बताए। उनले संविधान र लोकतन्त्रको रक्षा तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउने एमालेको अडानकै कारण देशी–विदेशी शक्तिहरू एकजुट भएर पार्टीविरुद्ध लागेको दाबी गरे। घिमिरेले एमालेको योगदानप्रति जनता सचेत रहेको र त्यसैले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने प्रयास भइरहेको बताए। फागुन २१ मा निर्वाचन हुने सम्भावना रहेको उल्लेख गर्दै उनले निर्वाचन भए एमाले पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे र सामाजिक सञ्जालका भ्रमबाट जोगिन सबैलाई आग्रह गरे।
केन्द्रीय सदस्य तथा विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले अब पार्टीभित्र कुनै मतभेद नरहेको बताए। उनले आगामी निर्वाचनमा एमाले एकढिक्का भएर अघि बढ्ने र त्यसो गर्दा जिल्लाका सबै छवटै निर्वाचन क्षेत्रमा विजय हासिल हुने विश्वास व्यक्त गरे।
वनभोज कार्यक्रममा उपस्थित नेकपा एमाले मोरङका सह–सचिव सन्तोष वान्तवाले यस कार्यक्रमले एमाले परिवारलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताए। “यसले एमालेको एकता कस्तो छ भन्ने स्पष्ट देखाएको छ,” उनले भने।
दुई हजारभन्दा बढी नेता–कार्यकर्ताको सहभागिता रहेको वनभोजमा पार्टीको ११औँ महाधिवेशनबाट मोरङ जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सम्मानसमेत गरिएको थियो।
साथै विभिन्न खेलकुद कार्यक्रम, नाचगान लगायतका गतिविधि पनि आयोजना गरिएको नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान शर्माले बताए। उनका अनुसार वनभोज कार्यक्रममा सहभागी प्रत्येक सदस्यले ५०० रुपैयाँ योगदान गरेका थिए।



