काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूमा कुनै निजी महत्त्वाकांक्षा नरहेको बताएका छन् । पार्टी सभापति वा देशको प्रधानमन्त्रीजस्ता पदले आफूलाई आकर्षित नगर्ने उनको भनाइ छ ।
आइतबार (पुस २७) सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले कांग्रेसलाई एकताबद्ध बनाउनु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको विशेष महाधिवेशनको उद्घाटनअघि सार्वजनिक सन्देशमा कोइरालाले पार्टी विधि, विधान र नियमअनुसार सञ्चालन हुनुपर्नेमा आफू निरन्तर संघर्षरत रहेको बताएका छन् ।
उनले कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको अभियान चलाएको उल्लेख गर्दै त्यस क्रममा धेरै युवा नेताहरू आफूहरूसँग जोडिएको बताए । “म सधैं कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट अघि बढोस् भन्ने पक्षमा उभिँदै आएको छु,” उनले भने ।
