काठमाडौं । चीनले ताइवान वरिपरिका समुद्रमा नौसेना, वायुसेना र रकेट फोर्स तैनाथ गरेको छ । चिनियाँ सेनाले यी ड्रिलहरू युद्ध तयारी परीक्षण तथा ‘विभाजनकारी’ र ‘बाह्य हस्तक्षेपकारी’ शक्तिलाई ‘कडा चेतावनी’ दिन गरिएको जनाएको छ ।
अमेरिकाले ताइवानलाई ११.१ बिलियन डलरको हतियार बिक्री गरेको र जापानी प्रधानमन्त्री सानाए तकाइचीले चीनले स्वशासित टापुमाथि आक्रमण गरे आफ्नो सेना संलग्न हुन सक्ने बताएका कारण बेइजिङ असन्तुष्ट छ । चीन ताइवानलाई आफ्नो भूभाग ठान्छ र आवश्यक परे बल प्रयोग गरेर नियन्त्रण लिन प्रतिबद्ध छ ।
चिनियाँ सेनाको पूर्वी थिएटर कमान्डले सोमबारदेखि ‘जस्ट मिसन २०२५’ का निम्ति नौसेना, वायुसेना र रकेट फोर्सका सैनिकलाई ताइवान वरिपरिका पाँच क्षेत्रमा पठाइएको जनाएको छ ।
मंगलबारदेखि ताइवान स्ट्रेट तथा टापुको उत्तर, दक्षिणपश्चिम, दक्षिणपूर्व र पूर्वी क्षेत्रमा ‘लाइभ फयर’ अभ्यास सुरु हुनेछ ।
पूर्वी थिएटर कमान्डका प्रवक्ता सिनियर कर्नेल शी यीले भने, “यी गतिविधि समुद्री तथा हवाई युद्ध तयारी गस्ती तालिम, एकीकृत नियन्त्रण प्राप्ति, प्रमुख बन्दरगाह र क्षेत्र सीमित गर्ने अभ्यास तथा बहुआयामी प्रतिरोधमा केन्द्रित हुनेछन् ।”
यी ड्रिलले ‘ताइवान स्वतन्त्रता’का विभाजनकारी र बाह्य हस्तक्षेपकारी शक्तिलाई गम्भीर चेतावनी दिने उनले बताए ।
सरकारी समाचार संस्था सिन्ह्वाले यसलाई ‘चीनको सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षा गर्न वैधानिक र आवश्यक कदम’ भनेको छ ।
सिन्ह्वाका अनुसार, ड्रिलका क्रममा चिनियाँ जहाज र विमान विभिन्न दिशाबाट ताइवाननजिक पुग्ने र बहुसेवाका सैनिकले आक्रमणमार्फत संयुक्त सञ्चालन क्षमता परीक्षण गर्नेछन् ।
चिनियाँ सेनाले ‘न्यायका ढालहरू : भ्रमहरू तोड्ने’ शीर्षकको पोस्टर पनि सार्वजनिक गरेको छ । त्यसमा चिनियाँ जनमुक्ति सेना (पीएलए)को चिह्न, चीनको महादिवालसहित दुई सुनौला ढाल, तीन सैन्य विमान र दुई जहाज देखाइएको छ ।
यो अभ्यास यस महिनाको सुरुमा अमेरिकाले ताइवानलाई ११.१ बिलियन डलरको हतियार बिक्री स्वीकृत गरेको एक महिनापछिको हो । यो उक्त टापुका निम्ति हालसम्मकै सबैभन्दा ठूलो हतियार प्याकेज हो । अलजजिराबाट ।
