काठमाडौं । भारतको नियामक संस्था नागरिक उड्यन कार्यालयले नयाँ नियम लागु गर्ने उचित तयारी नगरेकाले सुरु भएको इन्डिगो एयरलाइन्सको संकट सातौँ दिनसम्म पनि कायम छ ।
सोमबार, ८ डिसेम्बरका दिन भारतभरिका विभिन्न विमानस्थलहरूमा आउने–जाने गरेका इन्डिगोका ३५० भन्दा बढी उडानहरू रद्द भएका छन् । जसका कारण हजारौँ यात्रीहरू विमानस्थलमै अलपत्र परेका छन् ।
समाचार संस्था एएनआईका अनुसार दिल्ली विमानस्थलबाट मात्रै १३४ भन्दा बढी उडानहरू रद्द भएका छन् । यस्तै, बेङ्गलुरु विमानस्थलका १२७ र हैदराबाद विमानस्थलका ७७ उडानहरू रद्द गरिएको छ । गत सात दिनमा इन्डिगोका हजारौँ उडानहरू रद्द भइसकेका छन् ।
खासमा हवाई यात्रा अझ सुरक्षित बनाउन सरकारले पाइलटहरूको काम तथा विश्रामका घण्टासम्बन्धी नयाँ नियम ल्याएको थियो ।
इन्डिगोले यी नियमहरूको पालन गर्न पूर्ण तयारी नगरेकाले एयरलाइन्समा पाइलटको अभाव देखापरेको छ र २ डिसेम्बरदेखि इन्डिगो विमानहरूको सञ्चालनमा ठूलो मात्रामा समस्या उत्पन्न भएको हो ।
यसै संकटपछि भारतको नागरिक उड्डयन कार्यालय (डीजीसीए) ले ६ डिसेम्बरमा एयरलाइन्सप्रति ‘कारण बताउ’ नोटिस जारी गरेको थियो । एयरलाइन्सले नोटिसको जवाफ दिन ८ डिसेम्बर, साँझ ६ बजेसम्मको समय मागेको थियो, जुन डीजीसीएले स्वीकार गरेको छ ।
एयरलाइन्सले १० डिसेम्बरसम्म उडान सञ्चालनमा सुधार आउने आशा व्यक्त गरेको छ ।
