फाइल तस्बिर
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।
सडक विभागमातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती–देव एन्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २०७८ माघ २ मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो । सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ ।
ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक–पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नभएको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको हो ।
ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेस्की दुई करोड ३१ लाख रुपैयाँ जफत गरिनेछ । पेस्की रकममा दश प्रतिशत व्याजसहित असुल हुनेछ ।
निर्माण व्यवसायीयले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो ।
योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।
