नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । विराटनगरको अस्पताल चोकस्थित ग्रिनक्रस अस्पतालले एम्बुलेन्स चालकमार्फत बिरामी अस्पताल लैजांदा कमिसन दिने गरेको खुलासा भएको छ।
पहाडी तथा ग्रामीण भेगबाट उपचारका लागि आउने बिरामीहरूलाई अस्पतालसम्म ल्याउने एम्बुलेन्स चालकहरूलाई अस्पतालले प्रति बिरामी कमिसन रकम उपलब्ध गराउने गरेको प्रमाणित भएको छ ।
एक एम्बुलेन्स चालकका अनुसार आइसियूका बिरामीका लागि प्रति केस ३० हजार रुपैयाँ,चार बिरामी पुर्याए पाँचौँ बिरामीबापत थप ६० हजार रुपैयाँ सम्म प्रदान गरिने गरेको छ।
ग्रिनक्रस अस्पतालले एम्बुलेन्स चालकहरूको छुट्टै सूची तयार पारी बिरामी ल्याउने व्यवस्थापन मिलाउँदै आएको छ।
भर्ना भएको बिरामीको कुल बिलमा १५% सम्म कमिसन, आइसियू केसमा २५-३० हजार,एनआइसियू केसमा २० हजारसम्म दिने गरेको खुलेको छ।
बढ्दो कमिसनका कारण केही चालकहरूबीच सिन्डिकेट नै चल्ने गरेको छ, जसका कारण बिरामीलाई आवश्यकताअनुसार होइन, चालकलाई बढी कमिसन आउने अस्पतालमा पुर्याइन्छ। यसले गरिब तथा टाढाबाट आएका बिरामीका लागि उपचार लागत अनावश्यक रूपमा बढ्ने गरेको छ।
एम्बुलेन्स चालकहरूले “राम्रो डाक्टर छ”, “बेड पक्कै मिलाइदिन्छु”,“छुट गराइदिन्छु” जस्ता प्रलोभन देखाएर आफूले कमीशन पाउने अस्पतालमा बिरामी पुर्याउने गरेका छन्। वास्तविकता भने बिरामीका नाममा बढाइएको बिलबाटै चालक र अन्यले लाभ लिने गरेको देखिन्छ।
ग्रिनक्रस अस्पतालमा एम्बुलेन्स चालकहरूको यस्तो मनपरी चलन एक स्तरसम्म पुगेको छ कि एक चालकले अस्पताल सञ्चालकको कुर्सीमा बसेर रक्सी र चुरोट सेवन गर्दै तस्बिर खिचेको र त्यसलाई सामाजिक सञ्जालमा नै पोष्ट गरेको पनि खुलेको छ। यस्तो कार्यले स्वास्थ्य सेवाप्रति गम्भीर प्रश्न उठाएको छ।
स्रोतका अनुसार अस्पतालको मार्केटिङ हेर्ने रोशन यादव
अस्पतालभित्र एम्बुलेन्स मिलाउने जिम्मामा रहेका छन । उनले नै कुन कुन बिमारी आउने कुन बेड दिने र कमिसन चालकहरूलाई आवश्यक रकम र समन्वय उपलब्ध गराउने गरेको स्रोतहरूको दाबी छ।
पहिले नै पीडामा रहेका बिरामी र उनीहरूका आफन्तहरू एम्बुलेन्स कमिसन खेलका कारणअतिरिक्त आर्थिक भार,अस्पताल चयनमा भ्रम,अनावश्यक महँगो उपचार जस्ता समस्याबाट झन् मारमा परेका छन्।
विराटनगरमा दैनिक रूपमा टाढा-टाढाबाट आउने सयौँ बिरामी यस प्रकारको प्रलोभन र कमिसन जालोमा परेर ठगिँदै आएका भए पनि सम्बन्धित नियामक निकायहरू भने मौन देखिनु चिन्ताजनक छ।
