विराटनगर । नेपालमा अध्ययनरत तथा विभिन्न उद्योग–व्यवसायमा संलग्न भारतीय नागरिकहरुको दर्ता तथा नवीकरणका लागि मोरङ उद्योग व्यापार संघ र भारतीय दूतावाससंगको संयुक्त सहकार्यमा दुई दिने रजिष्ट्रेशन क्याम्प (शिविर) शुरु भएको ।
संघको प्राङ्गणमा सुरु नाम दर्ता गराउन भारतीय नागरिकहरुको घुइँचो लागेको छ । संघले जनाएअनुसार यो शिविर आइतबार साँझसम्म चल्ने छ ।
पहिलो दिनमै यस भेगका अधिकांश भारतीय नागरिकहरुको दर्ता तथा नवीकरण कार्य भएको छ । बाँकी रहेकाहरुले आइतबार साँझ ४ बजेसम्म नाम दर्ता गराउन सक्नेछन् ।
दर्ता तथा नवीकरण कार्यलाई सहज र व्यवस्थित बनाउन मोरङ उद्योग व्यापार संघले समन्वय तथा प्राविधिक सहजीकरण गरेको छ । कार्यक्रमको औपचारिक उद्धघाटन संघका अध्यक्ष अनुपम राठी र भारतीय दूतावासका पदाधिकारी प्रतिनिधि आरपी सिंहले गरेका छन् । सूचीमा दर्ता भएकाहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
अभियानमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको समन्वयात्मक भूमिका निर्वाह गरेको र संघका पदाधिकारी, कार्यसमिति सदस्य र सचिवालयका कर्मचारीहरुको सक्रिय सहयोग रहेको बताइएको छ ।
सूचीमा दर्ता हुने भारतीय नागरिकहरुले त्यहाँको कागजातसहित उपस्थित भएपछि दर्ता प्रक्रियमा लैजाने गरेको संघले जनाएको छ । विराटनगर तथा कोसी प्रदेशका विभिन्न उद्योग तथा कार्यालयमा कार्यरत नागरिकहरु सूची दर्ताका लागि संघको कार्यालय पुगेका छन् ।


