Premier Cables
Premier Steel

विराटनगर

कोशी प्रदेशका चौपायालाई खोरेत खोप हान्न शुरु, विराटनगरबाट थालियो अभियान

Calendar आइतबार, कार्तिक २३, २०८२  | साँझ ७:०१ बजे

विराटनगर । विराटनगर महानगरपालिकाले शहरलाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित गाई र भैंसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ।

महानगरपालिकाको आयोजनामा र कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा भेटनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सुरु गरिएको यो अभियानको उद्देश्य विराटनगरलाई खोरेतमुक्त क्षेत्र बनाउने रहेको छ।

बिज्ञापन

प्रदेशलाई खोरेतमुक्त बनाउने कोशी प्रदेश सरकारको योजनाअनुसार विराटनगरबाट अभियानको सुरुवात गरिएको हो। विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्ममा आयोजित समारोहमा गाईलाई खोप लगाउँदै ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ औपचारिक रूपमा आरम्भ गरिएको हो।

विराटनगर महानगरपालिकाका वडा नम्बर १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहले हाल महानगरमा २१ हजार ६ सय गाई–भैंसी रहेको जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा १६ हजार ६ सय गाई–भैंसीलाई निःशुल्क खोप लगाइनेछ। खोप कार्य भ्याक्सिनेटरमार्फत गराइने र सबै तथ्यांक डिजिटल प्रणालीमा अभिलेख राखिने व्यवस्था मिलाइएको उनले बताए।

मोरङ जिल्लामै ३ लाख ८० हजार डोज खोप वितरण गर्ने योजना बनाइएको छ। साथै, बंगुरका लागि पनि ५६ हजार डोज खोप लगाइने डा. साहले जानकारी दिए।

कोशी प्रदेशका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. सुशीलकुमार अधिकारीका अनुसार प्रदेशका सबै १ सय ३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिनेछ। उनले इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको बताउँदै झापा, मोरङ, सुनसरी र उदयपुरमा पनि अभियान तीव्र गतिमा अघि बढिरहेको बताए।

“हाम्रो लक्ष्य कोशी प्रदेशलाई निकट भविष्यमा पूर्ण रूपमा खोरेतमुक्त बनाउने हो,” डा. अधिकारीले भने, “यसले पशु स्वास्थ्य सुधारसँगै किसानको आर्थिक सुरक्षालाई पनि सुदृढ बनाउनेछ।”

कोशी प्रदेश सरकारको पशुपन्छी विकास महाशाखाकी प्रमुख डा. दीपा दिवालीले यो अभियानले प्रदेशलाई खोरेतमुक्त बनाउन ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले खोप अभियानले चौपायाको मृत्युदर घटाउने र किसानको आय वृद्धि गर्नेमा विश्वास व्यक्त गरे। वडा नम्बर १२ का कार्यबाहक अध्यक्ष कुशेश्वर राजवंशीले खोरेत रोगका कारण किसानले वार्षिक रूपमा ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने गरेको बताउँदै यो अभियानले राहत दिलाउने बताए।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हीरा यादवका अनुसार विराटनगरका सबै १९ वडामा यो खोप अभियान निरन्तर सञ्चालन गरिनेछ। उनले स्थानीय कृषकलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै यसलाई पशु स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदम भनेका छन्।

कोशी प्रदेश सरकारको दीर्घकालीन लक्ष्य प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा खोरेतमुक्त घोषणा गर्ने रहेको छ। यस अभियानले पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन सहयोग पुर्‍याउने सरकारको विश्वास छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka