फायल फोटो
विराटनगर । आगामी बिहार विधानसभा आम निर्वाचन–२०२५ लाई लक्षित गर्दै भारतको अररिया जिल्लास्थित जोगबनी नाकासहितको भारत–नेपाल सीमा तीन दिनका लागि अस्थायी रूपमा बन्द गरिने भएको छ।
अररिया जिल्लाका जिल्ला अधिकारी र प्रहरी अधीक्षकले संयुक्त रूपमा जारी गरेको आदेशअनुसार मतदानको ७२ घण्टा अघि अर्थात् २०२५ नोभेम्बर ८ शनिबारबाट सीमा सिल गरिने जनाइएको छ।
सीमा बन्द गर्ने निर्णय ११ नोभेम्बर २०२५ (मङ्गलबार) मा हुने मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउनका लागि गरिएको हो। यसबारे नेपाली र भारतीय प्रशासनबीच हालै बसेको समकक्षी बैठकमा सहमति भएको सूचनामा उल्लेख गरिएको छ।
आदेशअनुसार आपतकालीन सेवा र अत्यावश्यक कार्यका लागि मात्र सीमा पार गर्न अनुमति हुनेछ, त्यो पनि सम्बन्धित निकायको उचित जाँचपछि मात्र सम्भव हुनेछ।
सीमा सिल अवधिभर अररिया, फोर्बिसगन्ज, नरपतगञ्ज, जोकिहाट, सिकटी र पलासी क्षेत्रका नाकामा कडा निगरानी राखिने तयारी गरिएको छ।
स्थानीय प्रशासनले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न दुबै देशका नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

