काठमाडौं । देशका केही स्थानमा आज बदली र वर्षा हुने भएको छ ।
नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण बदली र वर्षाको सम्भावना रहेको हो ।
“गण्डकी र कर्णाली प्रदेशमा गएराति फाटफुट वर्षा भएको छ । एकदुई मिलिमिटर वर्षा मापन गरिएको छ,” मौसमविद् वरुण पौडेलले बाह्रखरीसँग भने, “दिउँसो पनि यस्तै मौसम हुनेछ ।”
काठमाडौंमा पनि राति फाटफुट भएको उनले जानकारी दिए । “काठमाडौंमा अबको केही समय बादल लागे पनि त्यसपछि मौसम सफा हुनेछ,” मौसमविद् पौडेलले भने ।
पश्चिम नेपालका केही स्थानमा भने दिउँसो पनि गएरातिको जस्तै मौसम हुनेछ । केही स्थानमा हल्का वर्षा हुने उनको भनाइ छ ।
देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
“साँझबाट मौसम सफा हुँदै जानेछ,” मौसमविद् पौडेलले भने ।
