






काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार १९) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन दोलखा र सिन्धुपाल्चोकमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, रुकुम पश्चिम, सल्यान, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी र डडेलधुरा भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने अनुमान छ ।
ताप्लेजुङ, संखुवासभा, बागलुङ, पर्वत, रोल्पा, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, डोटी, डडेलधुरा, बैतडी, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा समेत बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
यस दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ ।
कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ । नारायणी, कर्णाली र पश्चिम सेती जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।