काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २ हजार ५९५.२४ विन्दुमा कायम रहेको हो । मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ ।
सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार १४.८९ प्रतिशतले घटेर ५ अर्ब १५ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । मंगलबार सेयर बजारमा ३२२ कम्पनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर ४६ हजार ८७५ पटक कारोबार भएका छन् ।
सेयर बजारमा सूचीकृत सबै समूहका परिसूचक आज ओरालो लागेका छन् । सबैभन्दा धेरै वित्त समूहका परिसूचक २.२१ प्रतिशतले घटेको छ ।
यस्तै, विकास बैंक समूहको परिसूचक १.४७ प्रतिशत र जीवन बीमा समूहको परिसूचकमा १.४४ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै कमाउनेमा माविलुङ इनर्जी, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था तथा विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनी रहेका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने मुक्तिनाथ कृषि कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक तथा पञ्चकन्यामाई हाइड्रोपावरका सेयरधनी रहेका छन् ।

