काठमाडौं । देशका विभिन्न स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सरकारी निकायले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४४ जिल्लामा उच्च सतर्कता अपनाउनुपर्ने र १० जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्नुपर्ने अवस्था रहेको छ ।
प्राधिकरणले कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आज बिहानदेखि भोलि बिहानसम्म भारी हिमपातको सम्भावना रहेको जनाएको छ । त्यस्तै, कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।
सतर्क रहनुपर्ने प्रदेश र जिल्ला
कोसी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा।
मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही।
वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवा।
गण्डकी प्रदेशका गोरखा, नवलपरासी (पूर्व), मनाङ, मुस्ताङ र लुम्बिनी प्रदेशका नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङ।
त्यस्तै, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँका जिल्लाले पनि मौसमबारे निरन्तर जानकारीसहित अद्यावधिक रहनुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन निर्देशन दिइएको छ ।
अत्यावश्यक नभई सकेसम्म यात्रा नगर्न, डुबान हुनेसक्ने बस्तीका बासिन्दाले सुरक्षित स्थान पहिचान गर्न र आवश्यकता परेमा तत्काल सर्न आग्रह गरिएको छ । नदी किनारका वासिन्दालाई विशेष सतर्कता अपनाउन, बाली काटिसकेकाहरूले भित्र्याउन र नकाटेकाहरूले फिलहाल रोक्न समेत सुझाव दिइएको छ ।
त्यस्तै, प्रभावित जिल्लाका विपद् व्यवस्थापन समिति र सुरक्षा समितिहरूले सवारी आवागमनसम्बन्धी निर्णय आवश्यकतानुसार गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
“तीनैवटा सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलगायतका सबै सरोकारवाला संस्था प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्नेछ,” प्राधिकरणले भनेको छ, “पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यका साझेदार संस्थाहरू जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही सतर्क रहनुपर्नेछ।”
