Premier Cables
Premier Steel

राजनीति

बब्लु गुप्ताको यात्रा : समाजसेवाबाट मन्त्रीसम्म

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८२  | साँझ ५:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सिरहा लहानका बब्लु गुप्ता हाल जेन–जेनरेशन (जेनजी) आन्दोलनको प्रतिनिधित्व गर्दै अन्तरिम सरकारले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका छन्। उनकाे यात्रा साधारण परिवारको संघर्षदेखि राष्ट्रिय नेतृत्वसम्मको प्रेरणादायी कथाजस्तै छ।

झन्डै दुई दशकअघि शिक्षाका लागि बुबाले काठमाडौं पठाएका बब्लु कक्षा ३ मा लोकन्थलीस्थित सगरमाथा स्कूलमा भर्ना भएका थिए। त्यहीँबाट उनले एसएलसी परीक्षा दिए। अध्ययनसँगै गाउँका युवाहरू खाडी मुलुकमा ठगिँदै गएको समस्या उनले नजिकबाट देखे। यसले उनलाई सामाजिक कामतर्फ आकर्षित गर्‍यो।

बिज्ञापन

म्यानपावर कम्पनीहरूलाई जवाफदेही बनाउने, ठगीमा परेकाहरूलाई सहयोग गर्ने र काठमाडौं आएका बिरामीलाई रगत खोजिदिने कामबाट उनले समाजसेवाको शुरुवात गरे।

एउटा दुर्घटनाबाट ‘१०० ग्रुप’ को जन्म
कलेज पढ्दै गर्दा ललितपुरको ग्वार्कोमा उनले रगताम्ये अवस्थामा घाइते देखे। प्रहरी पर्खिरहेको भीडलाई पन्छाएर उनले आफैं उद्धार गरी अस्पताल पुर्‍याए। त्यो दिन उनले “मानवीय सेवा” को वास्तविक अर्थ महसुस गरे। यही अनुभवले पछि ‘१०० ग्रुप’ नामक सामाजिक समूहको जन्म गरायो।

यो समूहले रगत खोज्न, वैदेशिक रोजगारीमा अलपत्र परेकाहरूलाई सहयोग गर्न र बिरामीका लागि आपत्कालीन सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेल्यो। सिरहाकी कञ्चन मण्डलको उपचारदेखि कोभिड–१९ महामारीमा जनसेवा अभियानसम्म, बब्लु र उनको टोली सधैं अग्रपंक्तिमा रहे।

कोभिड–१९ महामारीमा निःशुल्क सेवा
कोभिड महामारीको बेला बब्लुको समूहले राजधानीका मजदूर र विपन्न परिवारका लागि निःशुल्क खाना अभियान सुरु गर्‍यो। शंखमूलबाट सुरु भएको यो अभियानले रत्नपार्कमा हजारौंलाई भोजन खुवायो।

त्यही क्रममा समूहले बानेश्वरस्थित रत्नराज्य विद्यालयमा आइसोलेशन सेन्टर सञ्चालन गरी अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर वितरणसमेत गर्‍यो।

‘कपडा बैंक’ र ‘किताब बैंक’
कोभिड अघि बब्लुले ‘कपडा बैंक’ अभियान सुरु गरे— जसमा मानिसहरूले आफ्ना प्रयोग गर्न लायक पुराना कपडा दान गर्थे र ज्यालादारी मजदूरले निःशुल्क लैजान पाउँथे। यो अवधारणा पछि जावलाखेल, कलंकी र सैनामैना (रुपन्देही) सम्म फैलियो।

त्यसपछि उनले ‘किताब बैंक’ सुरु गरे, जसले आर्थिक कठिनाइका कारण नयाँ किताब किन्न नसक्ने विद्यार्थीहरूलाई पुराना किताब उपलब्ध गरायो। वर्षात्को कारण निरन्तरता दिन नसके पनि यो प्रयासले ठूलो सामाजिक सन्देश दियो।

‘प्रोजेक्ट शिक्षा’ : विपन्न बालबालिकाका लागि विद्यालय
बब्लुको पछिल्लो अभियान ‘प्रोजेक्ट शिक्षा’ हो, जसअन्तर्गत उनकाे समूहले देशका विभिन्न स्थानका ११० विपन्न विद्यार्थीलाई काठमाडौंमा पढ्न, बस्न र खानको सुविधा प्रदान गरेको छ। गुह्येश्वरीमा बनेको १०० ग्रुपको भवनमा ती विद्यार्थीहरू अहिले अध्ययनरत छन्।

जीविकोपार्जनका लागि बब्लु स्वयं होस्टल र चियापसल सञ्चालन गर्छन्। सामाजिक योगदानकै कारण उनलाई अनलाइनखबरले “४० मुनिका ४०” सूचीमा समावेश गरेको थियो।

समाजसेवाबाट राजनीतितर्फ
बब्लुकाे विश्वास छ— “सामाजिक कामले केही व्यक्तिको जीवन बदल्न सक्छ, तर प्रणाली बदल्न राजनीति आवश्यक छ।” यही सोचका साथ उनी आन्दोलन र नेतृत्वतर्फ उन्मुख भए।

२०७७ सालमा कुलमान घिसिङको पुनर्नियुक्तिको मागसहितको प्रदर्शनमा पक्राउ परेर प्रहरीले गरेको कुटपिटपछि उनी सार्वजनिक चर्चामा आए। पछिल्लो ‘जेनजी आन्दोलन’मा पनि उनी अग्रपंक्तिमा रहे— माइतीघरदेखि बानेश्वरसम्मको भ्रष्टाचारविरोधी मार्चमा सक्रिय हुँदै घाइतेको उद्धार र व्यवस्थापनमा जुटे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka