Premier Cables
Premier Steel

समाचार

बालेनको प्रस्टीकरण: सिंहदरबारको आगो निभाउन दमकल पठाएका थियौं

Calendar मंगलबार, असोज २१, २०८२  | साँझ ६:३१ बजे

काठमाडौं । गत भदौ २४ गतेको भीषण आन्दोलन र त्यसपछि फैलिएको आगलागीको सन्दर्भमा सिंहदरबार जलेको समयमा काठमाडौं महानगरपालिकाको दमकल किन नपुगेको भन्ने प्रश्न उठिरहेका छन्।

केही सामाजिक सञ्जाल र मिडियामा “सिंहदरबार जलाउँदा महानगरको दमकल कता गयो?”, “बालेन शाहले नै जलाए सिंहदरबार?” जस्ता गम्भीर आरोप समेत लागिरहेका छन्। यस विषयमा सामाजिक संजाल मार्फत उनले प्रस्टीकरण दिएका छन् ।

बिज्ञापन

तर, यी सबै हल्ला र आरोपहरू तथ्यमा आधारित छन् त?

२४ गतेको अवस्था सम्झने हो भने, त्यो दिन साँझसम्म देशमा शासन प्रशासन ठप्प थियो। काठमाडौंमा मात्रै होइन, देशैभर अराजक अवस्था थियो। न सरकार सक्रिय थियो, न सुरक्षा संयन्त्रले अवस्था नियन्त्रणमा ल्याउन सकेको थियो। प्रहरी चौकीहरू समेत जलाइएका थिए, सडकमा भिड हावी थियो। यस्तो परिस्थितिमा दमकल सेवा सञ्चालन गर्नु नै जोखिमपूर्ण कार्य थियो।

काठमाडौँ महानगरपालिकाले दिएको जानकारी अनुसार, सिंहदरबारमा आगलागी सुरु भए लगत्तै महानगरको दमकल त्यहाँ जान तयार थियो। तर आन्दोलनकारी भिडले दमकललाई अगाडि बढ्न दिइएन। यही कारण दमकल ढिला पुगेको हो। नेपाली सेनाको दमकल समेत त्यही अवस्थामा थुनिएको थियो, जसले आगो निभाउन सक्ने अवस्था बनेन।

साँझ ८:१५ बजेदेखि भिड केही कम भएपछि काठमाडौँ महानगरको दमकल सिंहदरबार प्रवेश गरेको र ९:४५ बजेसम्म आगो निभाउने काममा सक्रिय रहेको महानगर स्रोतले जनाएको छ।

काठमाडौँ महानगरका अनुसार, न्युरोडमा २, बालाजुमा २, र रामहिटीमा १ गरी ५ वटा दमकल सञ्चालनमा छन्। १४ नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिम ३ सिफ्टमा कार्यरत छन्। एक सिफ्टमा अधिकतम ३ जनाले एउटा दमकल चलाइरहेका छन्।

२३ गतेदेखि २८ गतेसम्मको अवधिमा दमकल ५५ भन्दा बढी स्थानमा आगो निभाउन पुगिसकेको महानगर स्रोतले पुष्टि गरेको छ। सिंहदरबारमात्रै होइन, संसद भवन, अख्तियार, सुप्रीम कोर्ट, बानेश्वर बैंकहरू, नयाँ बसपार्क, डाटा सेन्टर, थुप्रै व्यापारी प्रतिष्ठान, घरहरूमा महानगरको दमकल सक्रिय रूपमा लागेको थियो।

स्वास्थ्य, घाइते, लास व्यवस्थापनमा पनि महानगर अग्रसर
आगो निभाउनु मात्र नभई, महानगरले स्वास्थ्य सेवा, घाइतेको उपचार, र सहिदहरूको लास व्यवस्थापनमा पनि अग्रसर भूमिका निर्वाह गरेको विवरण सार्वजनिक गरिएको छ।

‘हल्ला’ले मनोबल घट्छ, काम गर्ने हातलाई इज्जत गरौं
बालेनले अपिल गर्दै भनेका छन्, “हामी आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त झन् होइन। तर अफवाह फैलाउने र तथ्यबिना दोष थोपर्ने प्रवृत्तिले सेवा गरिरहेका कर्मचारीहरूको मनोबलमा गम्भीर असर गर्छ।”

साथै, मिडियालाई विशेष अनुरोध गरिएको छ- सत्य तथ्य खोजेर मात्रै समाचार लेख्न।

‘हल्ला होइन, तथ्यमा आधारित समाज बनाऔँ’
महानगरले अन्त्यमा जनतालाई आग्रह गरेको छ – “प्रिय आमा-बुवा, दाजुभाइ, दिदीबहिनी, अफवाह होइन, सत्यमा विश्वास गरौं। तपाईंहरूको प्रश्न स्वाभाविक छ, तर निष्कर्षमा पुग्नुअघि तथ्य बुझौं। आगो निभाउने, बिरामी जोगाउने, लास व्यवस्थापन गर्ने हातहरूलाई सम्मान गरौं। हामी निरन्तर खटिरहनेछौं- विश्वासका लागि, कर्तव्यका लागि, मानवताका लागि।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka