Premier Cables
Premier Steel

समाचार

कुलमान, बालेन र रवि मिल्न लागेका हुन, के छ पार्टी एकीकरणको प्रयास ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष ०७, २०८२  | बिहान ११:४१ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । वैकल्पिक शक्तिहरू छुट्टाछुट्टै निर्वाचनमा जाँदा परम्परागत दलहरू नै पुनः स्थापित हुने निष्कर्षका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच एकता वा सहकार्यको प्रयास पुनः सक्रिय हुने संकेत देखिएको छ।

यसअघि नेतृत्व र निर्वाचनसम्बन्धी विषयमा सहमति नजुट्दा निष्कर्षविहीन बनेको एकता तथा सहकार्यको प्रयास रवि लामिछाने थुनामुक्त भएपछि अघि बढ्नेमा तीनवटै पक्ष उत्साहित देखिएका छन्। एकता सम्भव नभए पनि चुनावी तालमेल गरेर भए पनि संयुक्त रूपमा निर्वाचनमा जाने धारणा सबै पक्षको छ।

बिज्ञापन

आगामी फागुन २१ गतेको निर्वाचनमा परम्परागत दलहरूलाई चुनौती दिन सक्ने वैकल्पिक शक्ति निर्माण हुन सक्छ कि सक्दैन भन्ने विषय अहिले चर्चाको केन्द्रमा छ। यही सन्दर्भमा रास्वपा, उज्यालो नेपाल र बालेन्द्र शाह एउटै मोर्चामा उभिन सक्ने सम्भावनाबारे राजनीतिक वृत्तमा चासो बढेको छ।

निर्वाचन आयोगमा दल दर्ताको समयमै यी शक्तिबीच एकताको प्रयास नभएको होइन। नयाँ र वैकल्पिक शक्ति एकै ठाउँमा नआए पुरानै दलको वर्चस्व कायम रहने निष्कर्षसहित वार्ता अघि बढाइएको थियो। तीनै पक्षले आ–आफ्नो तर्फबाट वार्ता टोली गठन गरी छलफलसमेत गरेका थिए। तर सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने थुनामा रहेकाले नेतृत्व तहमा प्रत्यक्ष संवाद हुन नसक्दा प्रक्रिया अघि बढ्न सकेन।

दोस्रो र तेस्रो तहमा पटक–पटक छलफल भए पनि नेतृत्व कसले लिने भन्नेमा सहमति नजुट्दा संवाद निष्कर्षविहीन बनेको थियो। रास्वपा रवि लामिछानेबाहेक अन्यलाई नेतृत्व स्वीकार्न तयार छैन भने आफ्नो चुनाव चिन्ह ‘घण्टी’ छोड्ने पक्षमा पनि छैन। उता कुलमान घिसिङ पनि ‘बलेको चिम’ चुनाव चिन्ह त्याग्न इच्छुक छैनन्। लामिछाने थुनामै रहेको अवस्थामा नेतृत्व कसरी मान्ने भन्ने विषयमा अन्य शक्तिहरू असहज देखिएका थिए, जसका कारण वार्ता बीचमै रोकिएको थियो।

अब रवि लामिछाने थुनामुक्त भएपछि तीनवटै शक्ति पुनः एकताको प्रयासलाई टुंगोमा पुर्‍याउने अपेक्षामा देखिएका छन्। यद्यपि, हालको अवस्थामा कानुनी रूपमा एकता सहज छैन। निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा नै साझा चुनाव चिन्हसहित निवेदन दिनुपर्ने व्यवस्था भएकाले त्यो समय सकिएपछि अब कसरी अघि बढ्ने भन्नेमा अन्योल छ।

एकता भएमा एउटै चिन्हमा चुनाव लडेर पछि पार्टी एकीकरण गर्ने विकल्प खुला रहे पनि समानुपातिकतर्फको बन्दसूची आ–आफ्नै दलको बुझाउनुपर्ने व्यवस्था अर्को जटिलता बनेको छ। यही कारण पूर्ण एकता सम्भव नभए चुनावी तालमेलमार्फत अघि बढ्ने विकल्पमा तीनै शक्ति सहमत देखिन्छन्।

यी तीन शक्तिबाहेक अन्य नयाँ दलहरूसँग पनि एकताको प्रयास भइरहेको छ। जेन–जी अभियन्ताहरू पनि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने धारणा राख्दै निर्वाचनमा जान यी शक्तिहरूको साथ खोजिरहेका छन्। यसअघि संवादमा सहभागी रास्वपाका एक नेताका अनुसार, रवि लामिछाने थुनामुक्त भएपछि पुनः संवाद सुरु हुने निश्चित छ।

नेतृत्वका विषयमा देखिएका अड्चन हटाएर तीनै शक्तिलाई एक ठाउँमा ल्याउने प्रयासले अब सार्थकता पाउने विश्वास रास्वपाको छ। कुलमान घिसिङ पक्ष पनि नयाँ शिराबाट संवाद अघि बढ्नेमा आशावादी छ भने बालेन्द्र शाह पक्षले पनि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता स्वीकार गरेको छ, यद्यपि त्यसको स्पष्ट मोडालिटीबारे भने अझै स्पष्टता देखिएको छैन।

पार्टी, नेतृत्व र चुनाव चिन्हमा फरक मत रहे पनि एउटा निष्कर्षमा भने तीनै शक्ति एकमत देखिन्छन्—यदि अहिले वैकल्पिक शक्तिहरूबीच सहकार्य वा एकता हुन सकेन भने भविष्यमा अर्को अवसर नआउन सक्छ। यही कारण अब संवादलाई छिट्टै निष्कर्षमा पुर्‍याउन तीनै पक्षमा दबाब र हतार बढेको देखिन्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka