






विराटनगर । जेन जी आन्दोलनका क्रममा हठात् विराटनगर स्थित कोइराला निवास पनि आगजनी गरियो ।
आगजनीबाट १०७ वर्षअघि पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको ऐतिहासिक घर जलेर खरानी भयो । पिताजीको पालाका काठपात, झ्यालढोका, बांसले बनेको टाटी सबै जल्यो ।
पिताजीले बनाएको त्यो संरचनाको भग्नावशेष शनिबार कांग्रेस नेता डा. शेखर कोइरालाले भावुक हुँदै मिहीन ढंगले नियालिरहेका थिए । पत्रकारले अनायसै सोधे,”अब कहाँ बस्नुहुन्छ डक्टर साब ? कि डेरा लिनुहुन्छ”
कोइराला एकछिन अवाक जस्तै बने, अनि भने,”अहिले त साथीभाइ वा आफन्तकोमा बस्छु, काठमाडौं फर्कि हाल्छु । अब भतिजाहरू संग छलफल गर्छु अनि घरको पुनर्निर्माण शुरु गर्छु ।”
निवासमा तल्लो तलामा रहेको आफ्नो शय्यन कक्ष र अन्य भाग निरीक्षण गर्दा कोइराला निकै भावुक देखिन्थे । आगजनीबाट निवास पुनर्निर्माण नगरी बस्नै नहुने अवस्थामा पुगेको छ ।
कोइरालाले आगामी चुनाव भने कोइराला निवासमै बसेर लड्ने बताए । उनले भने,”आउने चुनावको सबै तयारी यहिंबाट गर्छु । “