






बर्जु गाउँपालिका–६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरी
विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित दुधफारम चोक । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोली सवारी अनुगमन र ट्राफिक चेकिङमा थियो ।
नियमित रुपमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको हुन्छ । तर, बुधबार राति भएको सवारी दुर्घटनामा प्रहरी नियमअनुसार चेकिङका क्रममा एउटा मिनी ट्रक रोकिरहेको थियो । कागजात चेकजाँच चलिरहेको थियो । त्यो मिनीट्रक विराटनगरबाट नेमुवा जाँदै गर्दा ट्राफिकको चेकजाँचका क्रममा थियो । परबाट हुइँकिएर तीव्र गतिमा आएको एउटा मोटर साइकल एक्कासि मिनी ट्रकसँग ठक्कर खायो ।
करिब साँझ साढे ८ बजे कोशी राजमार्गमा भएको उक्त दुर्घटना परी सुनसरीको बर्जु गाउँपालिका–६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु हुन पुग्यो ।
विराटनगरबाट नेमुवा जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले चेकजाँचको क्रममै रोकिरहेको बेला सोही दिशाबाट तीव्र गतिमा आएको प्रदेश १–०२–०४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडिको भागमा ठक्कर दिएको थियो । मोटरसाइकल कुदाई रहेका चौधरी सडकमा बजारिए । उनी गम्भीर घाइते अवस्थामा थिए । तत्कालै उपचारका निम्ति नोबेल अस्पताल लगियो । उपचारकै क्रममा अस्पतालमा उनको निधन भयो ।
घटनापछि ट्रक र चालक मोरङको बुढीगंगा गाउँपालिका–१ निवासी ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो मुद्दा अघि बढाउन सवारी र चालकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको जानकारी दिएको छ । ट्राफिक इन्स्पेक्टर राजन लम्सालले आवश्यक कानुनी प्रक्रियाका लागि सवारी र चालक जिल्ला प्रहरी पठाइएको र अब जिल्लाले नै यस सम्बन्धी मुद्दा अगाडि बढाउने बताए ।
उनले भने,‘‘हामीले प्रारम्भिक रुमा गर्नुपर्ने कार्य सम्पन्न गरी गाडी र सवारी चालकलाई जिल्ला पठाउने हो । ट्राफिक चेकजाँचका क्रममा रोकिराखेको सवारीमा अर्को साधन जुधेर भएको घटनाको कानुनी कारवाहीको प्रक्रिया के कसरी अगाडि बढ्ने भन्ने अब उतैबाट निक्र्योल हुने छ ।’’
मृतक चौधरी विभिन्न सामाजिक कार्यहरुमा सक्रिय थिए । उनी गुरु ओशोका सन्यासी समेत थिए । ध्यान र अध्यात्ममा समेत उनको रुची थियो । विराटनगर ओशो आश्रमले समेत उनको निधनमा गहिरो शोक व्यक्त गरेको छ ।
सामाजिक सञ्जालमा विराटनगरबासीले यो घटनामा सडकमा व्यवस्थित ढंगले चेकजाँच नगर्ने नगराउने ट्राफिक प्रहरी, सवारी चालक वा मोटरसाइकल चालक जो आफै आएर ठोक्किए कसको दोष हो ? भन्दै प्रश्न गरेका छन् ।