






विराटनगर । आर्थिक अभावका कारण नोबेल अस्पतालमा पाँच दिनदेखि उपचारपछि पनि डिस्चार्ज हुन नसकेका विराटनगर–६ निवासी सिंहसर कामतलाई पूर्व मुख्यमन्त्री केदार कार्की र वडाध्यक्ष हरिश्चन्द्र सहनीले संयुक्तरूपमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
विगत केही दिनदेखि बिरामी रहेका कामतको उपचार नोबेल अस्पतालमा भइरहेको थियो। तर, अत्यन्त कमजोर आर्थिक अवस्था भएकाले अस्पतालको बिल तिर्न नसक्दा उनी उपचारपछि पनि डिस्चार्ज नहुने अवस्थामा थिए।
घटनाबारे जानकारी पाएलगत्तै कोसी प्रदेशका पूर्व मुख्यमन्त्री कार्की र वडा नं. ६ का वडाध्यक्ष सहनीले अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए। उक्त सहयोगपछि कामतलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ।
कामतका छोरा पवन कामतले परिवारको लागि अत्यन्तै कठिन परिस्थितिमा उक्त सहयोग अत्यन्तै महत्वपूर्ण भएको बताए। उनले पूर्व मुख्यमन्त्री कार्की र वडाध्यक्ष सहनीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
स्थानीय स्तरमा यस्तो मानवीय सहयोगले संकटमा परेका नागरिकलाई राहत मिल्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।