






नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका मोरङका दुई युवकको शव फेला परेको छ। मृतक दुवै जनाको आपसी नाता दाजुभाइ (मामा–फुपुको छोरा) रहेको बताइएको छ।
बेपत्ता भएका व्यक्तिहरूमा विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने छन्। उनीहरूको शव सोमबार बिहान १० बजे फेला परेको मृतक सुजनका दाजु विवेक मिश्रले जानकारी दिए।
विवेकका अनुसार मनोज काठमाडौंमा बसोबास गर्दै आएका थिए भने सुजन हालै केही दिनका लागि काठमाडौं गएका थिए। काठमाडौंबाट साथीभाइसँगै उनीहरू शनिबार गोसाइँकुण्ड गएका थिए।
आइतबार स्नान गर्ने क्रममा एक जना चिप्लिएर तल झरेपछि अर्का उनीलाई बचाउन प्रयास गर्दा दुबै जना हराएका थिए। “एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए, तर दुबै जना बेपत्ता भए,” दाजु विवेकले भने, “अहिले हामी शव पर्खिएर बसिरहेका छौं।”
दुवै जनाको असामयिक निधनले परिवार र आफन्तमा शोक छाएको छ।