विराटनगर । बाराको कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला परेकी छिन् । कैलैया उपमहानगरपालिका १ कट्टीपर्साबाट शनिबार साँझ बेपत्ता दुई वर्षीया बालिका हराएकी थिइन । स्थानीय विन्दी मण्डल १२ घण्टापछि सकुशल फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ साढे ५ बजेतिर आफ्नै घरअगाडि खेलिरहेको अवस्थामा अचानक हराएकी थिइन्। बालिका बेपत्ता भएलगत्तै परिवारले खोजी सुरु गर्नुका साथै प्रहरीलाई खबर गरेका थिए।
आइतबार बिहान(भदौ ७ गते) ५ बजेतिर सिसवा महेशपुरस्थित सडककिनारामा रोइरहेको अवस्थामा बालिका फेला परेकी हुन्। स्थानीय महिला सल्मा नेशाले बालिकालाई रोइरहेको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार बालिका आफ्नै घरभन्दा करिब एक किलोमिटर उत्तरतर्फ सकुशल भेटिएकी हुन्।
घटना लगत्तै प्रहरी, परिवार र स्थानीय बासिन्दाले बालिकाको खोजीकार्य तीब्र बनाएका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको थियो।
बालिका पुग्न सक्ने सम्भावित स्थानहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रातभर सर्च अपरेसन चलाएको डिएसपी घले जानकारी दिए।
सकुशल उद्धारपश्चात बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएपछि प्रहरीले सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
