Premier Cables
Premier Steel

अर्थ

भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा सम्पन्न

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २८, २०८२  | साँझ ७:४४ बजे
Hamro Biratnagar Headlines

भोजपुर । भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि राउतले निजी क्षेत्रका उद्योगी, व्यापारी तथा व्यवसायीका समस्या समाधान, संरक्षण, प्रोत्साहन र प्रवर्द्धनमा महासङ्घले अभिभावकीय भूमिका निर्वाह गरिरहेको बताए। उनले खुकुरी जस्ता स्थानीय उत्पादनको विकास र ब्रान्डिङमा जोड दिँदै साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्न आग्रह गरे।

बिज्ञापन

राउतले प्राकृतिक प्रकोप, बाढी, पहिरोजस्ता जोखिममा सरकारको सहयोग आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रको ज्ञान, सीप र रोजगारी विकासमा राज्यको सहकार्य अपरिहार्य भएको बताए। भोजपुर आफ्नो जन्मथलो भएको उल्लेख गर्दै उनले टेम्केडाँडा, साल्पापोखरी खुकुरीजस्ता पर्यटकीय तथा उत्पादन क्षेत्रलाई विश्वसामु चिनाउन उद्योग वाणिज्य सङ्घको भूमिका महत्त्वपूर्ण हुने बताए।

कार्यक्रममा विशेष अतिथि तथा कोशी प्रदेशका पूर्व अध्यक्ष नरेन्द्र कुमार खड्काले तीन खम्बे अर्थनीतिअनुसार निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य सङ्घलाई सरकारको सारथीको रुपमा अघि बढ्नुपर्नेमा जोड दिए। उनले उद्योग, व्यापारीको समस्या समाधानमा सरकार सक्रिय हुनुपर्ने बताए।

केन्द्रीय सदस्य उमेश डालमियाले पछिल्लो समय व्यवसायीहरूको पलायन रोक्न महासङ्घ र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले कर, ब्याजदर, मुद्रा तरलता र मौद्रिक नीतिमा सरकारको विशेष ध्यान आवश्यक रहेको औँल्याए।

प्रदेश सांसद एवं नेपाली कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाले लगानीमैत्री नीति बनाउन निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न पहल गरिरहेको बताए। उनले पर्यटन, कृषि, उद्योग, विद्युत् लगायतका क्षेत्रमा सम्भावना रहेको भन्दै निजी क्षेत्रलाई लगानी गर्न आह्वान गरे।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले संघीय संरचना अनुसार सङ्घको भूमिकालाई विस्तार गर्नुपर्ने र नयाँ नेतृत्वले त्रिवर्षीय योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए।

कार्यक्रममा भोजपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ध्रुव श्रेष्ठले आफ्नो कार्यकालमा भवन निर्माण, कोभिड लगायत विपद्का बेला गरिएको योगदान स्मरण गर्दै सङ्घलाई प्रभावकारी बनाउन आग्रह गरे। अर्का निवर्तमान अध्यक्ष डम्बर श्रेष्ठले सङ्घको वर्तमान अवस्थामा पुग्न ६ वर्षको नेतृत्वमा गरिएका प्रयासको उल्लेख गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिए।

अध्यक्ष कर्ण मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरेन्द्र खड्का, उमेश डालमिया, गोकुल श्रेष्ठ, प्रयास कार्की, दीपक नेपाल लगायत कोशी प्रदेशका विभिन्न जिल्लाका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमअघि कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत नेतृत्वको टोलीले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ अन्तर्गत भोजपुरका चखेवा, ट्याम्के डाँडा लगायतका पर्यटकीय स्थलको अवलोकन गरेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka