






विराटनगर । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल घूस मागेपछि फेरि विवादमा मुछिएका छन्। प्रदेश सरकारको मन्त्रिपरिषद बैठकमा उनी निरन्तर अनुपस्थित रहँदै आएका थिए । एक जना कर्मचारीको सरुवाको निहुँ पारेर उनी मन्त्रिपरिषद् बैठक छल्दै आएका थिए । उनले कर्मचारीसँग क्यूआर कोड पठाएर रकम माग्ने गरेको आरोप लागेको छ । कोसी पर्यटन वर्षका विवादित कार्यक्रमका कारण उनीमाथि निरन्तर प्रश्न उठ्दै आएको छ ।
एकजना डिभिजन वन अधिकृत (डीएफओ) रितेष भुषण बस्नेतलाई सरुवा गरिदिन पटक–पटक दबाब दिँदै आएका मन्त्रीको कुरा मुख्मन्त्री हिक्मत कुमार कार्कीले इन्कार गरिदिएका थिए ।
सरुवा मागको पछाडि उनीसँग बस्नेतले रकम दिन अस्वीकार गरेपछि व्यक्तिगत रिसइवी रहेको बताइएको छ। मुख्यमन्त्री कार्यालयका कर्मचारी स्रोतका अनुसार मन्त्री मण्डलले बस्नेतसँग पैसा मागेका थिए । उनको सरुवा पत्र बाकेर मन्त्री स्वयम् दौडिन थालेका थिए ।
मन्त्री मण्डलमाथि डिभिजन वन अधिकृतहरूलाई बैंकको क्वीआर कोड पठाएर रकम माग्ने गरेको, आर्थिक अनियमितता गर्ने, स्वकीय सचिवको पदमा अयोग्य व्यक्ति राखेको आरोप छ । मन्त्री मण्डलको हर्कतको विषयमा कांग्रेस संसदीय दलमा विरोध भएपछि केहीअघि प्रदेश सभा बैठकमै उनले आफूलाई धम्की नदिन भन्दै प्रदेश सभा सदस्यहरुलाई चेतावनी दिएका थिए । मन्त्रीका स्वकीय सचिवका रूपमा अमृत मेहताले काम गरिरहेका छन् । तर, कागजमा भने सन्तोष मेहताको नाम छ ।
उता, मन्त्री मण्डलले भने आफूलाई लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । source : ratopati