






विराटनगर । कोसी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले विगतका मन्त्रीले पनि आफ्नो जिल्ला र क्षेत्रमा बजेट लग्ने गरेको बताएका छन् । उनले पहिलेकाले लग्दा हुने अहिलेकाले किन नहुने भन्दै उल्टै प्रदेश सभा बैठकमा प्रश्न गरेका छन् । बजेटमाथिको जारी छलफलमा प्रदेश सभा सदस्यले उठाएको सवालमा जवाफ दिदैं मन्त्री मण्डलले आफूलाई धेरै नधम्क्याउन आग्रह गरे ।
प्रदेश सभा सदस्यहरुबाट आफूलाई सभामै धम्क्याउने काम भएको जिकिर गर्दै उनले भने,‘‘म कांग्रेसको खत्तम मानिस भनेर औंलो नदेखाउनु होस । सम्मानित हिसाबले हेर्ने प्रयास गरौं । मैले सानो बजेट लाँदैमा के म खराब हो ? पहिले पनि मन्त्रीहरुले बजेट लगेको होइन ? यो प्रस्तुति कसैको हकमा राम्रो हुँदैन ।’’
पर्यटन मन्त्रालयतर्फ प्रदेश सरकारको रु. २ अर्ब ४० करोड र संघको सरकारको समेत गरी रु. २ अर्ब ९६ करोड बजेट विनियोजन भएको छ । पर्यटन वर्ष सफल बनाउन नसकेको र बजेट आफ्नो निर्वाचन क्षेत्रमा खन्याएको भन्दै मन्त्री मण्डलको उनकै दलका सांसदले पनि आलोचना गरेका छन् । सुनसरीमा मात्र बजेट नगएको उनले दाबी पनि गरे ।
‘‘मलाई धम्क्याउने प्रयास नगरियोस । म मात्र होइन । धेरै मन्त्रीहरु हुनुहुन्छ । केही बजेट मोरो जिल्लामा जाँदैमा हाँस्य नगर्नुहोस,’’ मन्त्री मण्डलले भने । उनले सुनसरीमा ६ वटै जिल्लामा कांग्रेस जितेको भन्दै तपाइँ कति गर्नु भएको छ ? कति जिताउनु भएको छ ? भन्दै प्रदेश सभा सदस्यलाई प्रश्न पनि गरे ।
सुनसरीका १५ जना सांसद भएको र उनीहरुको बजेटसमेत जोड्दो सुनसरी सुनसरी मात्र देखिएको दाबी गरे । धार्मिक पर्यटकीय क्षेत्र र कासी टप्पु वन्यजन्तु आरक्षसमेत भएकोले धेरै देखिएको मण्डलले दाबी गरे । यसरी सुनसरीको नाम आउनु स्वभाविक भएको बताए । विगतको रातो किताब हेर्दा तत्कालीन मन्त्रीहरुले पनि पालिका पालिकामा धेरै बजेट लगेको सुनाए । आफूले गल्ती गरेको भए सदनमै उठबस गर्न तयार रहेको बताए । ‘कि त कसम खाम मन्त्रीहरुले बजेट लान पाउँदैन भनेर,’ उनले भने ।