Premier Cables
Premier Steel

राजनीति विराटनगर

बेलगाम कोसीका मन्त्री : ‘चुप्पी’ साध्छन् मुख्यमन्त्री !

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, असार २३, २०८२  | अपराह्न २:२३ बजे

विराटनगर । दुई तिहाइको बलियो समर्थनमा बनेको कोसी प्रदेश सरकार दिनहुँजसो विवाद र अव्यवस्थामा फसिरहेको छ। मुख्यमन्त्रीलाई चुनौती दिने गरी अभिव्यक्ति र गतिविधि गर्दासमेत उनीहरु बर्खास्त हुन सकेका छैनन् ।

नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट बनेको सरकारप्रति जनताको अपेक्षा उच्च थियो, तर अहिलेको अवस्थाले ती सबै अपेक्षामा तुषारापात गरेको छ। सुशासन र स्थिरताको नारा लगाउने सरकारले उल्टै बेथिति, अराजकता र अकर्मण्यताको उदाहरण मात्र पेश गरेको छ। यसबाट जनस्तरमा समेत प्रदेश सरकारप्रति वितृष्णा बढाउन बल पुगेको छ ।

बिज्ञापन

मुख्यमन्त्री हिक्मतकुमार कार्की आफ्नै मन्त्रीहरूको गैरजिम्मेवार र अनियन्त्रित व्यवहारका अगाडि पूर्ण रूपमा निरीह देखिएका छन्। पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको निरन्तर विवादास्पद गतिविधिले सरकारकै गरिमामा प्रश्न उठेको छ। उनले मातहतका कर्मचारीसँग क्यूआर कोड पठाएर पैसा मागेको, सचिवालय खर्च भन्दै व्यवसायीहरूलाई आर्थिक दबाब दिएको आरोप सार्वजनिक भइसकेको छ। यी सबै गम्भीर आरोपका बाबजुद मुख्यमन्त्रीले उनलाई सोधपुछसमेत गर्न नसक्नु सरकारको कमजोरीको ज्वलन्त उदाहरण हो। यद्पि मन्त्री मण्डलले आफूलाई अनाहक रुपमा आरोप लगाइएको र पैसा माग गरिएका कर्मचारीसँग कुनै चिनजान नै नभएको दाबी गरेका छन् ।

यसैगरी, मुख्यमन्त्री कार्यालयमा कार्यरत राज्यमन्त्री सिर्जना राई खुलेआम असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा सरकार विरोधी अभिव्यक्ति दिइरहेकी छन्। उनले मुख्यमन्त्रीप्रति लक्षित गरेर ‘शीत युद्ध सुरु हुन्छ’ भन्ने चेतावनी दिएकी छन्। योजना तथा बजेटमा आफूलाई उपेक्षा गरिएको भन्दै राई सार्वजनिक कार्यक्रमसमेत बहिष्कार गर्दै आएकी छन्।

खासमा मुख्यमन्त्री कार्यालयमा बसेर राईले के काम गर्ने भन्नेमै जनस्तरमा दुविधा छ । राज्यमन्त्रीको भार बोकाएर राज्यकोषमाथि थप भार बढाउनु उचित वा अनुचित के हो भन्दै सामाजिक सञ्जालहरुमा समेत टिकाटिप्पणी हुँदै आएको छ । मन्त्री राईले पनि पटक पटक चेतावनीयुक्त स्टाटस सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी छिन् ।

सरकारकै मन्त्री खगेनसिंह हाङ्गामले त मुख्यमन्त्रीलाई नै सिधै चुनौती दिएका छन्। उनले ‘मुख्यमन्त्रीले चाहेर पनि मलाई हटाउन सक्दैनन्’ भन्ने अभिव्यक्ति दिँदै सरकारभित्रको असन्तुलन अझै प्रष्ट पारेका छन्। हाङ्गामविरुद्ध कुटपिट जस्ता गम्भीर आरोप छन्, तर तिनमा कुनै जवाफदेहिता छैन।

सामाजिक विकासमन्त्री पाँचकर्ण राई त कर्मचारीको इशारामा चल्ने गुनासोहरू सार्वजनिक भइरहेका छन्। प्रदेश खेलकुद विकास बोर्डका एक पदाधिकारीले सार्वजनिक कार्यक्रममै मन्त्रीलाई गाली गरेका घटनाले मन्त्रीको नै नेतृत्व क्षमतामा गम्भीर प्रश्न उठाएको छ।

आर्थिक मामिला मन्त्री रामबहादुर राना भने निर्णय गर्न नसक्ने, न नीति बनाउन सक्ने, न त बजेटमै गम्भीरता देखाउने स्थिति देखिएका छन्। एकै व्यक्तिलाई दुई मन्त्रालय सम्हाल्न दिँदा पनि कांग्रेसभित्रको असन्तुष्टि गहिरिँदै गएको छ। खोटाङका लागि मात्रै अर्बौंको बजेट लैजाँदा पनि कुनै स्पष्ट तर्क वा प्राथमिकता देखिएको छैन। मन्त्री मगरले सयौं टुक्रे योजना रातो किताबमा आएको विषयमा प्रदेश सभामा जवाफ दिँदै ‘यो आवश्यकताको उपज’ भएको भन्दै हल्का टिप्पणी गरेका थिए ।

यसरी मन्त्रीहरू बेलगाम, भ्रष्ट र आत्मकेन्द्रित देखिँदा, मुख्यमन्त्री कार्कीको नेतृत्व र नियन्त्रण क्षमता पूर्ण रूपमा धराशायी भएको छ। जनताले विकास, स्थायित्व र पारदर्शिता अपेक्षा गरेका बेला यो सरकार उल्टै भ्रष्टाचार, आन्तरिक कलह र अराजकताको नमुना बन्दै गएको छ।

यदि यस्तै दुर्गति जारी रह्यो भने कोशी प्रदेशको दुई तिहाइको सरकार इतिहासकै सबैभन्दा असफल र अलोकप्रिय सरकारका रूपमा चिनिनेछ। त्यसले केवल गठबन्धन सरकारप्रति मात्रै होइन, समग्र प्रदेश प्रणालीप्रति जनताको विश्वास ह्रास गर्ने निश्चित छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka