






काठमाडौं । देशका बैंकहरुले असार महिनाका लागि प्रस्ताव गरेका मुद्दति खाताको ब्याजदर सन् २०१६ यताकै न्यून विन्दुमा झरेको छ ।
अहिले औसत ब्याजदर ५.९० प्रतिशतमा झरेको छ, जुन २०१६ नोभेम्बरको ५.९२ प्रतिशतभन्दा पनि कम हो । यस्तै, बैंकहरुको औसत बेस रेट पनि जेठमा ६.२६ प्रतिशतमा झरेको छ, जुन सन् २०१६ पछिकै सबैभन्दा न्यून स्तर हो ।
कोरोना महामारीको लकडाउनकालीन समयको तुलनामा अहिले ब्याजदर अझै कम छ । यसको मुख्य कारण बैंकिङ प्रणालीमा अत्यधिक तरलता भए पनि कर्जा प्रवाहमा अपेक्षित वृद्धि नहुनु हो । यद्यपि, सेयर धितो कर्जाको माग भने वृद्धि भएको देखिन्छ ।
सेयर बजार अहिले २६ सयदेखि २८ सय नेप्से सूचकको सीमामा अड्किएको छ । लगानीकर्तामा अझै अघिल्लो बुल रनको घाटाको मनोवैज्ञानिक असर देखिन्छ ।
विशेषगरी, ऋण लिएर सेयर किनेका थुप्रै खुद्रा लगानीकर्ताहरु घाटाबाट उठ्न सकेका छैनन् । ब्याजदर घटेपनि उनीहरु पुनः जोखिम लिन तयार देखिएका छैनन् ।
हाल बजारमा लङ टर्म होल्डभन्दा सर्ट टर्म ट्रेडर हावी देखिन्छन् । धेरैले उधारोमा सेयर किनेपछि भाउ नबढेपछि वा पेमेन्ट नहुँदा ब्रोकरहरुले फोर्स सेटलमेन्ट गर्दा बजारमा जबरजस्ती सप्लाई आउँछ । यस्ता व्यवहारले बजार अझै स्थिर हुन सकेको छैन ।
लो क्याप स्टकमा कारोबार
२६–२८ सयको सीमामा बजार घुमिरहँदा लो क्याप र जंक स्टकमा कारोबार बढेको छ । फन्डामेन्टल रुपमा बलिया कम्पनीहरुले भने खासै वृद्धि गर्न सकेका छैनन् । बैंक, बीमा जस्ता हाई क्याप कम्पनीमा बढोत्तरी नभएसम्म समग्र इन्डेक्सलाई माथि उकास्न गाह्रो हुने विश्लेषकहरुको भनाइ छ ।
कसैकसैले राम्रो कम्पनीको सेयर धितो राखेर सस्तो मूल्यमा उपलब्ध लो क्याप स्टकहरुमा सक्रिय ट्रेडिङ गरिरहेका छन् । यसले सेयर धितो कर्जाको मागलाई पनि बढाएको छ ।
संस्थागत लगानीकर्ता अझै कमजोर, सीमित लगानी
सञ्चय कोष, बीमा कम्पनी, र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको सहभागिता हाल कमजोर देखिन्छ । नियामकले लगानी सीमा तोकेकाले उनीहरु अधिक लगानी गर्न सक्दैनन् ।
बैंकहरुले ब्याजदर कटौती गर्दै लगेकाले विस्तारै सकारात्मक संकेत देखिएको छ । कर्जाको ब्याजदर समेत एकल अंकमा झरेको छ । यद्यपि, बजारमा सुधार ल्याउन ब्याजदर घटाउनु मात्रै पर्याप्त हुँदैन ।
बजारमा सुधारका लागि विश्वासको पुनर्निर्माण, स्थिर नीति, कर्जामा सहजता, कम्पनीहरुको राम्रो प्रदर्शन र संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता आवश्यक रहेको विश्लेषकहरुको भनाइ छ । यी पक्षमा क्रमशः सुधार भइरहेकाले अब विस्तारै बजारमा सकारात्मक माहोल सिर्जना हुने अपेक्षा गर्न सकिन्छ ।