Premier Cables
Premier Steel

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | साँझ ६:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य बढाउनुपर्नेमा उद्योगी, व्यवसायी तथा राजनीतिक क्षेत्रका प्रतिनिधिहरूले जोड दिएका छन्। उनीहरूले उद्योगमैत्री वातावरण, नीतिगत स्थिरता, सहज कर्जा, पूर्वाधार विकास र प्रशासनिक झन्झटको अन्त्य नभएसम्म प्रदेशको आर्थिक रूपान्तरण सम्भव नहुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशले आइतबार विराटनगरमा आयोजना गरेको ‘कोशी आर्थिक संवाद’ कार्यक्रममा सहभागीहरूले कृषि, उद्योग, पर्यटन, ऊर्जा र व्यापार क्षेत्रको सम्भावना उपयोग गर्दै उत्पादन तथा निर्यात बढाउनुपर्ने धारणा राखेका हुन्।

विज्ञापन

कार्यक्रममा रास्वापाका महामन्त्री विपीन आचार्य, प्रतिनिधि सभा सदस्य यज्ञमणि न्यौपाने, रुबिना आचार्य, आशा झा, सन्तोष राजवशी, प्रेमलाल चौधरी र सिर्जना श्रेष्ठलगायतको सहभागिता थियो।

कार्यक्रममा एफएनसीसीआई कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रलाई सरकारको सहयोगी र साझेदारका रूपमा बुझ्नुपर्ने बताए। उद्योग सञ्चालनमा प्रशासनिक जटिलता, विभिन्न झन्झट र पूर्वाधार निर्माणमा हुने ढिलाइले लगानीको वातावरण प्रभावित भएको उनको भनाइ थियो।

उत्पादनमुखी उद्यमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै राउतले कृषि, उद्योग, जलविद्युत् र पर्यटनमा रहेको सम्भावनालाई उपयोग गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। औद्योगिक करिडोरलाई चलायमान बनाउने, नीतिगत स्थिरता कायम गर्ने र निर्यातमुखी उद्योगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा एफएनसीसीआईका सल्लाहकार श्यामप्रसाद दाहालले ‘कोशी प्रदेशको आर्थिक अवस्था, सम्भावना र चुनौती’ विषयमा प्रस्तुति दिएका थिए। उनले कोशी प्रदेशको कुल गार्हस्थ उत्पादन १० खर्ब ४३ अर्ब रुपैयाँ रहेको जानकारी दिँदै आर्थिक वृद्धिदरमा भने प्रदेश अपेक्षाअनुसार अघि बढ्न नसकेको बताए।

दाहालका अनुसार कृषि क्षेत्रमा कोशी तेस्रो, उद्योगमा दोस्रो र निकासी व्यापारमा दोस्रो स्थानमा छ। प्रदेशको पहिलो आवधिक योजनामा ९.७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिए पनि वास्तविक उपलब्धि ३.१८ प्रतिशत मात्रै रहेको उनले उल्लेख गरे।

कृषि, पशुपालन, वन, जडीबुटी, उद्योग, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिमा कोशीको ठूलो सम्भावना रहेको उनको भनाइ थियो। कोशी लगानी सम्मेलनबाट पहिचान गरिएका परियोजनालाई कार्यान्वयनमा लैजान, निर्यातयोग्य वस्तुको गुणस्तर प्रमाणीकरण गर्न, प्रयोगशाला स्थापना गर्न र बजारीकरणमा ध्यान दिनुपर्ने उनले बताए।

त्यसैगरी, ‘कोशी ओरिजिन’ नामक साझा ब्रान्ड विकास, एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बंगलादेशसँग रेलमार्गमार्फत व्यापार विस्तार गर्न सके प्रदेशको आर्थिक गतिविधि बढ्ने उनको धारणा थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय अर्थ विभाग प्रमुख लीमा अधिकारीले रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्ने बताइन्। व्यापार घाटा बढ्दै गएको र उद्योग खुल्नुपर्ने समयमा सञ्चालनमा रहेका उद्योगसमेत बन्द हुने अवस्थामा पुगेको उनको भनाइ थियो।

अधिकारीले लगानी प्रक्रियालाई सहज बनाउन कानुनी अवरोध हटाउने, बन्द तथा रुग्ण उद्योगको अध्ययन गरी पुनः सञ्चालनको सम्भावना खोज्ने र सुनसरी–मोरङ औद्योगिक करिडोरलाई पुनर्जीवन दिने विषयमा पहल गरिने बताइन्। सहज कर्जा, भरपर्दो ऊर्जा र कच्चा पदार्थको उपलब्धताबिना उत्पादन बढाउन नसकिने उनले उल्लेख गरिन्।

उनले कोशी प्रदेशमा जलविद्युत्, चिया, अलैंची, दूध उत्पादन तथा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताउँदै सम्भावनालाई परिणाममा बदल्नुपर्नेमा जोड दिइन्।

डिजिटल व्यापारका विषयमा माइकल सिद्धीले प्रस्तुति दिएका थिए। उनले भन्सार, बैंकिङ तथा भुक्तानी प्रणालीलाई एकीकृत रूपमा डिजिटल बनाउन सके आयात–निर्यातमा लाग्ने अतिरिक्त खर्च घटाउन सकिने बताए। व्यापारमा डिजिटल प्रणालीको पूर्ण प्रयोग नहुँदा उद्योगी व्यवसायीले अझै कागजी प्रक्रियाको झन्झट बेहोर्नुपरेको उनको भनाइ थियो।

रास्वपाका महामन्त्री विपिन आचार्यले औद्योगिक क्षेत्रले उठाएका सकारात्मक कार्यलाई सरकारले पूरा गर्ने बताउँदै उनले भने,‘‘हामी यस्तो संरचना बनाउँदै छौं कि प्रश्न उठ्यो भने हामी असामान्य मान्दैनौं । हामी सामान्य व्यक्तिहरु असामान्य जिम्मेवारी वहन गर्न आएका हौं ।’’ अर्को पाँच वर्षपछि पनि भोट पाइन्छ कि पाइँदैन भन्ने कुराहरु पनि आउने गरेको भन्दै आचार्यले अर्को तीस चालीस वर्षसम्म नेपालमा बसिरहोस भन्ने अभिलाषा भएको सुनाए ।

६ देखि ७ महिनाको अवधिमा कति काम गरियो भन्ने भन्न नसकेपनि सरकारले नियतमा कम्प्रोमाइज नगरेको बताउँदै आचार्यले कुनैपनि मन्त्री वा मन्त्रालयले यति पैसा दिनुस काम हुन्छ नभनेको भन्दै यो नेपाली राजनीतिको नयाँ डिपार्चर भएको दाबी गरे । उनले भने,‘‘आजभन्दा भोलि अझ राम्रो भएर सरकारले काम गरिरहेको छ । आक्रोसवाला माया अझ बढ्ने हाम्रो अपेक्षा छ ।’’ उनले मन्त्रीहरु वा सांसदहरुले मात्र देश बनाउने भन्दा पनि कलेक्टीभ्ली बनाउने भन्दै उनले नयाँ राजनीतिक यात्रा शुरु गरेको रास्वपा दलका रुपमा उद्योगीलाई हाई रिगार्डमा राख्ने प्रतिवद्धता जनाए । उनले भने,‘‘उद्योगीले उद्योग गरेबापत राज्यबाट उपेक्षा होइन राज्यबाट सम्मान पाउने समाज बनाउन हामी सक्रिय हुनेछौं ।’’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले रास्वपाले थिति बसाल्ने नीति लिएको बताउँदै भने,‘‘समस्या एकातिर हुन्छ, हामी त्यसैतिर लाग्छौं तर त्यसको मूल कारण के हो भनेर खोज्दैनौं ।’’ उत्पादनमुखी अर्थतन्त्रको लागि सरकारले काम गर्न चिन्तित भएर लागि रहेको जिकिर गरे । निर्माणजन्य सामग्री हामीले निर्यात गर्न सकिने दृष्टान्त पेश गर्दै उनले यसबाट समेत फाइदा लिन सकिने बताए । चिया टिप्नेहरुका लागि विशेष किसिमको चश्मा उपलब्ध गराउन मन्त्रालयले काम गरिरहेको र एकद्वार प्रणाली गर्ने कार्यमा मन्त्रालयले काम गरिरहेको सुनाए ।

साहले ट्रन्समिसन लाइनहरु जडान भएपछि उद्योगमा विद्युतीय ट्रिपिङको समस्या समाधान हुने बताउँदै भने,‘‘समस्या पहिचानका लागि फिल्डमै जानुपर्ने रहेछ ।’’

रास्वपा सांसद यज्ञमणि न्यौपानेले औद्योगिक क्षेत्रका समस्या धेरै भएको बताउँदै उनले उद्योगीले उठाएका जायज मागहरु राज्यले पूरा गर्नुपर्ने बताए । उनले भने,‘‘कि उद्योगीले उठाएका माग ठिक छैनन् भन्नुपर्यो कित पूरा गर्न सकिदैन भन्नुपर्यो ।’’ हरेक कुराको ठोस समाधान गरिनु पर्नेमा उनको जोड थियो । केही उद्योगी व्यवसायीमाथि भएको धरपकडले उद्योगी व्यवसायीमाथि त्रास बढेको भन्दै उनले अर्थसम्बन्धी विषय फौजदारी कसुर भन्दा पनि आर्थिक रुपमा दण्डित गरिनुपर्ने न्यौपानेले बताए ।
उनले भने,‘‘आत्मबल दह्रो बनाउनुहोस, सदन खुल्छ उद्योगीका समस्या हामी सदनमा उठाउँछौं ।’’ निजीक्षेत्रलाई साथै लिएर अघि बढ्नु पर्नेमा जोड दिए ।

सांसद प्रेमलाल चौधरीले जलविद्युत तथा उर्जा उत्पादनमा विशेष जोड गर्नुपर्नेमा जोड दिँदै भने,‘‘विराटनगर र काकडभिट्टा नकालाई आयात मात्र नभई निर्यात नाकाका रुपमा समेत विकास गरिनु पर्छ ।’’

रास्वपा सांसद सिर्जना श्रेष्ठले उद्योगी व्यवसायीका समस्याबारे आफू जानकार भएको बताउँदै उनले समस्या उठान हुने र तिनको समाधानका लागि अबको सरकारले तदारुकताका साथ काम गर्ने बताइन । उद्योग वाणिज्य समितिमा रहेर आफूले काम गरिरहेको बताउँदै उनले नीति बनाएर समस्या समाधानमा पहल गरिरहेको सुनाइन । उनले भनिन्,‘‘बनेका नीतिलाई व्यवहारमा कार्यान्वयन गराउन आवश्यक छ ।’’ देशभरबाट सुझाव लिएर त्यसलाई सम्बोधन गर्ने प्रयास गरिने बताइन् । समस्या अथाहा भएपनि कुनलाई प्राथमिकता दिइने भन्ने लागेको र निजीक्षेत्रसँगको ग्याप हटाउन काम भइरहेको बताइन । कोसीमा धार्मिक पर्यटन र मेडिकल पर्यटनको ठूलो सम्भावना रहेको बताइन् । यस किसिमको संवाद देशभर गरिने रास्वपाले जनाएको छ ।

रास्वपा सांसद सन्तोष राजवंशीले समृद्ध कोसी अबको यात्रा भएको बताए । उनले यस किसिमका बहस र छलफलले समस्या पहिचान गर्न मद्दत पुग्नेमा जोड दिए । प्राकृतिक र सौन्दर्य पर्यटनको सम्भावनाप पनि रहेको उनले बताए । उनले भने,‘‘जोगबनी किमाथांका नाकालाई प्राथमिकता दिएर निर्माण सम्पन्न गरिनुपर्छ ।’’ वृहत विराट क्षेत्रको अवधारणाअनुसार थप काम गर्न सकिने उनको जोड थियो ।

रास्वपा केन्द्रीय अर्थ विभागका रोहन कार्कीले सुशासन र समृद्धिको नारा बोकेको छ रास्वपाले । समृद्धिको यात्रा ८५ दशमलब ५ प्रतिशत रोजगारी सिर्जना गर्ने निजीक्षेत्रको मनोबल नबढाई पूरा हुँदैन । यो कुरा सरकारलाई पनि थाहा छ । निजीक्षेत्रले राजश्वमा ठूलो योगदान दिएको छ । नेपालमा पैसा छैन कि भएको प्रश्नलाई उत्पादन र रोजगारीमा प्रयोग गर्न सकिएको छैन् भन्ने कुरा छ । आन्तरिक अर्थतन्त्र सोचेजसरी परिचालन हुन सकेको छैन । २७ अर्ब अमेरिकी डलर संचिती छ । १७ महिनाभन्दा बढीको आयात धान्नसक्छ । ८५ खर्ब निक्षेप बैंकहरुमा छ । करिब १६ खर्ब लगानीयोग्य नगद राष्टबैंकमा थुप्रिएको छ । सरकारले यो रकम लगानी गरेर उत्पादनमुलक क्षेत्रमा लगानी गरेर राजश्वमार्फत सरकारले आम्दानी गर्नसक्छ । तर, उल्टो सरकारले ब्याज तिर्नुपर्ने अवस्था छ ।

जोखिम व्यवस्थापनका नाममा कठोर नीतिहरुले कर्जालाई निरुत्साहित गरिरहेको छ । लगानी बढाउन चाहन्छौ भनेपनि मुखले भनेर मात्र हुँदैन, बैंकसँग पैसा त तर लगानी किन भइरहेको छैन भन्ने कुरा महत्वपूर्ण छ । लगानी गरेको पैसा फिर्ता नभएको अवस्था पनि छ ।

कठोर नीतिका कारण समस्या पनि छन् । नेपाल राष्ट्र बैंकसँग पैसा त तर व्यवसायीलाई सिध्याउने गरी भन्दा पनि बचाउने गरी लगानी गर्नुपर्छ । लगानी थप्छु भन्दा क्यापिटल इन्जेक्ट नगर भनेर एउटा नीतिले भन्छ । व्यवहारिक पक्षहरुका कारण पनि समस्या छन् ।

कानुन संशोधन गरेर भएपनि लगानीको वातावरण बनाउने दिशामा सरकार अग्रसर छ । समस्या के हो भनेर भन्न र समाधानका उपाय पनि लिएर आउन उनले आग्रह गरे ।

उद्योगी व्यवसायीले सुनाए क्षेत्रगत समस्या
कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीले आफ्ना समस्या र सुझाव प्रस्तुत गरेका थिए।

च्याउ उत्पादक संघ झापाका महासचिव शुक्र दाहालले च्याउ उत्पादन क्षेत्रका विषय उठाएका थिए। प्लाइउड उत्पादक संघका तर्फबाट सीताराम अग्रवालले उद्योगलाई आवश्यक कच्चा पदार्थको सहज उपलब्धता, सहुलियत ब्याजदरमा ऋण र ढुवानी लागत घटाउनुपर्ने माग गरे। भारतमा नेपाली प्लाइउडको माग राम्रो रहे पनि उद्योग विस्तारका लागि नीतिगत सहजीकरण आवश्यक रहेको उनले बताए।

सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशका उपाध्यक्ष शशीभूषण शाहले सुनचाँदीको वैधानिक आयात सहज बनाउन, कर प्रणाली सुधार गर्न तथा कालिगढको सीप विकासका लागि तालिम र प्रविधि हस्तान्तरण गर्नुपर्ने बताए।

अलैंची व्यवसायी दीपक नेपालले स्थानीय तहले निकासीका क्रममा कर लिने गरेको भन्दै त्यसलाई रोक्न पहल गर्नुपर्ने माग गरे। अघिल्लो वर्ष १२ अर्ब ४१ करोड रुपैयाँको अलैंची निकासी भएको उल्लेख गर्दै उनले अलैंचीलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने बताए। किसानले उत्पादन गोदाममा राखेर त्यसकै आधारमा ऋण लिन सक्ने व्यवस्था गर्नुपर्ने सुझावसमेत उनले दिए

श्याम पौडेलले बराहक्षेत्र, रामधुनी र किचकबधलगायत धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई भारतका धार्मिक पर्यटकसँग जोड्न सके पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए।

होटल व्यवसायी महासंघका महासचिव बासुदेव बरालले होटल क्षेत्रलाई उद्योगसरह विद्युत् महसुल र अन्य सुविधा उपलब्ध गराउनुपर्ने माग गरे। उनले विराटनगर विमानस्थलको स्तरोन्नति, सप्तकोशी उच्च बाँध र गाँजासम्बन्धी नीतिबारे पनि सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए।

पाँचथर उद्योग वाणिज्य संघका नरेन्द्र अधिकारी, खोटाङ उद्योग वाणिज्य संघका राजनप्रसाद आचार्य र तेह्रथुम उद्योग वाणिज्य संघकी अध्यक्ष तारा श्रेष्ठले पहाडी जिल्लाबाट बढ्दो बसाइँसराइप्रति चिन्ता व्यक्त गर्दै पहाडी क्षेत्रमा आर्थिक गतिविधि बढाउनुपर्ने धारणा राखेका थिए।

उद्योगी महेश जाजूले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ मरिच आयात गर्न कार्यविधि नबन्दा समस्या भएको बताए। उद्योगमैत्री नीति निर्माण गर्नुपर्ने र कच्चा पदार्थ आयातमा हुने ढिलाइ अन्त्य गर्नुपर्ने उनको माग थियो।

उद्योगी पवन शारडाले कुनै समय चामल निर्यात गर्ने कोशी प्रदेश अहिले आयातमा निर्भर हुन थालेको बताए। सञ्चालनमा रहेका चामल उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उल्लेख गर्दै उनले आत्मनिर्भर बन्न सक्ने उद्योगलाई सरकारले प्राथमिकता दिएर संरक्षण गर्नुपर्ने धारणा राखे। कर तिर्ने व्यवसायीलाई थप निरुत्साहित गर्ने नीति उचित नभएको र सीमापारिको व्यापार फस्टाउँदा विराटनगरको बजार सुनसान बन्दै गएको उनले बताए।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायी तथा सरोकारवालाहरूले कोशी प्रदेशको आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र राजनीतिक दलबीच साझा दृष्टिकोण आवश्यक रहेको बताएका थिए। उनीहरूले लगानीका सम्भावना पहिचान गर्ने कामसँगै कार्यान्वयनमा जोड दिन र उद्योगी व्यवसायीको मनोबल बढाउने वातावरण निर्माण गर्नुपर्ने भन्दै सत्तासीन दलका नेता तथा प्रतिनिध सभा सदस्यहरुको ध्यानाकर्षण गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka